दशैंका दुई फिल्म ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले हलमा आफ्नो दबदबा कायम गरिरहँदा तिहारलाई लक्षित गर्दै लक्ष्मीपूजाबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ व्यावसायिक प्रदर्शनमा उत्रिएको छ । एकल रिलिजको अवसर पाएको फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शो हात पारेको छ । देशभर १ सय २० हाराहारी शो पाएको फिल्मलाई अब अकुपेन्सी उत्साहप्रद बनाउनुपर्ने चुनौती छ ।
‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को प्रभाव अझै कम नहुनु र भोलि शुक्रबारबाट बलिउडका दुई ठूला सिक्वेल फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैयाँ ३’ प्रदर्शनका आउने तयारीमा रहेकाले ‘पूर्ण बहादुरको सारङ्गी’लाई बक्स अफिसमा आफ्नो पक्षमा नतिजा निकाल्न सहज भने देखिँदैन । यो फिल्मको व्यापारिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर छ ।
टिकटक, युट्युब जस्ता प्लेटफर्ममा निकै लोकप्रिय बनिरहेको ‘काँधेकुरी’ गीतका कारण चर्चामा रहेको फिल्मको मंगलबार साँझबाट मल्टीप्लेक्सहरुमा बुकिङ खुलेको थियो । बिहीबार बिहान ९ बजेसम्म फिल्मको अग्रिम बुकिङ अनुपात औसत छ । बिहानी शोमा अकुपेन्सी पनि अपेक्षित देखिएको छैन । यद्यपि, दिउँसोबाट फिल्मले ‘पिकअप’ लिन सक्ने अनुमान गरिएको छ ।
गन्धर्व समुदायको कथामा आधारित भएर निर्माण भएको फिल्ममा विजय बराल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको अभिनय छ । सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा विजयको छोराको भूमिकामा प्रकाशले अभिनय गरेका छन् । फिल्मले बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्छ ।