फिल्म ‘होस्टेल रिटर्न्स’मा ‘पिके डन’को भूमिकामार्फत् चर्चामा आएका प्रदीप चौधरी करिब १० वर्षपछि ‘सत्यवीर’बाट फिल्म अभिनयमा फर्किने भएका छन् । बिहीबार लक्ष्मीपूजाको अवसरमा उनको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । पोस्टरमा प्रदीप रगत पोतिएको बञ्चरो लिएर आक्रामक लुक्समा प्रस्तुत छन् । उनको पाखुरामा चोटको निशान देखिन्छ भने अनुहारमा रगतको छिर्का छ । पोस्टरले क्राइम-थ्रिल संकेत गर्छ ।
गडरेज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई विराज खड्काले निर्देशन गर्नेछन् । एक दशकदेखि भिएफएक्स तथा एनिमेसनमा सक्रिय रहेका उनको यो पहिलो निर्देशकीय फिल्म हुनेछ । उनले यसअघि एक दर्जन सर्ट फिल्म र म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । आदेश सुब्बा निर्माता रहेको फिल्मको छायांकन आगामी डिसेम्बरबाट सुरु हुने जनाइएको छ ।
यो फिल्ममा ४० प्रतिशत दृश्य भिएफएक्स रहने निर्देशक खड्काले बताए । बाँकी ६० प्रतिशत दृश्य भने काठमाडौं र चितवनमा खिचिनेछ । कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसीबाहेक निर्माण कम्पनीले फिल्मको ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गरेको छैन । साढे २ करोडको लागतमा निर्माण हुने फिल्मको कथा प्रदीप चौधरी स्वयंको हो ।