छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ झन्डै साढे २ महिना पछाडि सरेको छ । अब यो फिल्म आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण कम्पनी विन्ध्यवासिनी क्रियसनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।
छठमा रिलिजको तयारीसहित फिल्मको ट्रेलरदेखि गीतसम्म रिलिज भइसकेका थिए । तर, फिल्मको ‘हाइप’ भने बन्न सकेको थिएन । निर्माताले प्राविधिक कारण देखाए पनि तिहारका दुई ठूला बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ले असर गर्न सक्ने देखिएपछि ‘फिरफिरे फिरिरी’लाई पूर्वघोषित मितिबाट पछाडि सारिएको हो । माघ ४ मा भने अहिलेसम्म अरु फिल्म छैनन् ।
नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठको संयुक्त स्क्रिप्ट लेखन रहेको फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन् ।