घरेलु फिल्मकी उम्दा कलाकार हुन्, नीता ढुंगाना । बाल्यकालदेखि अभिनयमा सक्रिय उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेकी छन् । अभिनयको अनुभवलाई ‘सर्टिफिकेट’ मानेर उनी कोभिडअघि आफैं फिल्म निर्देशन गर्ने योजना थिइन् । त्यो फिल्म थियो, ‘ह्रस्व दीर्घ’ । तर, स्क्रिप्टमा काम हुँदै जाँदा कथाले ठूलो ‘क्यानभास’ माग्यो । त्यसपछि उनले निर्देशनको आँट गर्न सकिनन् ।
नीता निर्देशनबाट पछाडि हटेपछि द्वन्द्व निर्देशकको रुपमा चिनिएका चन्द्र पन्त निर्देशकको रुपमा भित्रिए । नीता र उनका श्रीमान् हरिहर अधिकारीले भने निर्माण र अभिनयको भार सम्हाले । चन्द्र भित्रिएपछि कथाको ‘क्यानभास’ र कलाकारको आकार झनै बढ्यो । त्यसपछि साउथ र बलिउडका कलाकारलाई भित्राइयो । भारतका नामी छायाँकार कवीरलाललाई लिइयो । भारतको स्टुडियो (रामोजी)मा फिल्म खिचियो । अब यही कात्तिक ३० गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।
नीता आफूले निर्देशन गर्ने तयारी गर्दा फिल्मको ‘क्यानभास’ सानो रहेको स्मरण गर्छिन् । भन्छिन्, ‘पहिला यो ‘स्केल’मा फिल्म बनाउने तयारी थिएन । जतिबेला मैले निर्देशन गर्ने सोच बनाएको थिएँ, त्यसबेला ‘क्यानभास’ सानो थियो । ‘स्टोरीलाइन’ भने यही थियो । पछि स्टोरी बनाउँदै जाँदा कथाले ठूलो ‘क्यानभास’ माग्यो । अनि मलाई डर लाग्यो । त्यसपछि म अगाडि बढ्न सकिनँ ।’
फिल्मको ‘क्यानभास’ ठूलो भएपछि परिपक्व निर्देशक चाहिन्छ भनेर चन्द्र पन्तलाई रोजेको उनी बताउँछिन् । ‘उहाँ जोडिएपछि फिल्ममा धेरै कुरा भयो । स्टोरी ‘लार्ज’ बन्यो । ‘टेक्निकली’ रुपमा ‘लेभल’ बढ्यो । कलाकारहरुको ‘ग्राफ’ ठूलो भयो । फिल्ममा जे जति भयो, त्यो चन्द्र सर जोडिएपछि भएको हो । उहाँले भारतीय फिल्म पनि गरेका कारण त्यहाँ राम्रो सम्बन्ध रहेकाले ‘ह्रस्व दीर्घ’लाई ‘लार्ज स्केल’मा लगेका हौं,’ उनी भन्छिन् ।
अभिनयको लामो अनुभव भए पनि ‘ह्रस्व दीर्घ’ नीताको पहिलो निर्माण हो । यसमा उनी निर्माता मात्र नभइ कलाकार पनि भएकाले जिम्मेवारी दोहोरो थियो । एकपटक त उनलाई निर्माता मात्र बनेको भए हुने थियो भन्ने लागेको रहेछ । ‘दुईतिरको तनाव झेल्न गाह्रो हुन्थ्यो । पर्दा पछाडिको तनाव छुट्टै छ, त्यो विर्सिएर फेरि अभिनय गर्नुपर्दा साह्रै गाह्रो हुने रहेछ,’ उनको अनुभव छ ।
नीतालाई नेपालमै छायांकन र नेपाली कलाकार मात्र लिएको भए त्यति गाह्रो हुँदैन थियो कि भन्ने लाग्छ । तर, ‘ह्रस्व दीर्घ’ गरेपछि उनलाई अब ५० करोडको फिल्म बनाउँदा पनि ‘म्यानेज गर्न सक्छु’ भन्ने आत्मविश्वास बढेको छ । ‘अब दोस्रोपटक फिल्म बनाएँ भने योभन्दा ‘परफेक्ट’ भएर निस्कन्छु भन्ने लागेको छ,’ उनी भन्छिन्, ‘अहिले सम्झँदा त्यो लेभलमा हामीले कसरी काम गर्यौं होला भन्ने लाग्छ । तर, अब ५० करोडको फिल्म बनायौं भने पनि ‘म्यानेज’ गर्न सक्छु भन्ने आँट छ ।’