गीतसंगीतलाई चाडपर्वको आत्मा मानिन्छ । यस्तो आत्मा, जुनबिना चाडपर्व नै अपुरो हुन्छ । गीतमा यति सामर्थ्य हुन्छ, जसले सिंगो चाडपर्व र संस्कृतिलाई नै जीवन्त बनाएर राख्छन् । दशैं होस् वा तिहार, फागु होस् वा तीज, हरेक पर्वको सांस्कृतिक र धार्मिक महत्व बोल्ने गीत बनेका छन् । तर, अझै पनि चाडपर्वमा नयाँभन्दा दशकअघिका गीतहरुकै बोलबाला देखिन्छ ।
फिल्म ‘कन्यादान’को ‘तीजको लहर आयो बरि लै’ नघन्किएसम्म अझै पनि तीज आएको आभास हुन्न । फिल्म ‘मुग्लान’को ‘दशैं आयो’ गीत दशकौंदेखि दशैंको पर्याय बनेको छ । त्यसरी नै तिहारमा पनि फिल्ममा समावेश दशकअघिका गीतहरु नै बढी घन्किन्छन् । यतिबेला तिहारको माहोल भएकाले हामीले यहाँ कालजयी बनेका तिहारका फिल्मी गीतहरुबारे चर्चा गरेका छौं ।
‘भैलिनी आए आँगन’
कालजयी बनेको तिहार गीत हो, ‘भैलिनी आए आँगन’ । यो गीतले तिहार आएको आभास गराउँछ । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’मा समावेश गीतमा यादव खरेलको शब्द, शम्भूजीत बाँस्कोटाको संगीत तथा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । गीतमा अभिनेत्री गौरी मल्ल नृत्य गर्दै प्रस्तुत छिन् ।
हरेक वर्षको तिहारमा देउसी खेल्नेहरुले यही गीत गाएर देउसीको सुरुवात गर्छन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अभिनेता शिव श्रेष्ठ पनि प्रस्तुत छन् । ९ वर्षअघि युट्युबमा आएको यो गीतलाई ५५ लाख बढीले हेरिसकेका छन् । गीतले तिहारको विशेषता वर्णन गर्दै धनकी देवी लक्ष्मीको स्वागत र स्वदेशमै जागिर पाइन्छ भन्दै युवाहरुलाई विदेश नजान पनि आग्रह गरेको छ ।
‘दियो बाली साँझको’
तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘चिनो’मा समावेश गीत हो, ‘दियो बाली साँझको’ । यो पनि तिहारको कालजयी गीतमा पर्छ । जब यो गीत घन्किन्छ तब तिहारले घर-आँगन टेकेको महसुस गराउँछ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वरमा समावेश गीतको भिडियोमा स्वर्गीय कलाकारद्वय सुभद्रा अधिकारी र केशव भट्टराईको अभिनय छ ।
७ वर्षअघि युट्युबमा सार्वजनिक गरिएको गीतमा सुभद्राले धनकी देवीको लक्ष्मीको पूजा र घरमा दियो बत्ती बाल्दै लक्ष्मीलाई आफ्नो घरमा बोलाएकी छन् । गीतमा दुर्गा र सरस्वतीको महिमा पनि गाइएको छ । यसमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । युट्युबमा गीतलाई साढे ९ लाख बढीले हेरेका छन् ।
‘निधारमा लर्काएर सप्तरंगी टीको’
राजेन्द्र सलभको निर्देशनमा बनेको फिल्म ‘विजय पराजय’मा समावेश ‘निधारैमा लर्काएर सप्तरंगी टीका’ गीतले तिहारको महत्व र विशेषता झल्काउँछ । दिनेश अधिकारीको शब्द रचना रहेको गीतमा हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत छ ।
भाइटीकाको परिवेश समेटिएको गीतमा अभिनेताद्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा प्रस्तुत छन्, जहाँ रुपाले भुवन र कृष्णलाई भाइटीका लगाएको देख्न सकिन्छ । र, अन्तिममा रुपालाई विवाहमा अन्माएको दृश्य समावेश छ । भाइटीकाको महत्व बुझाउने गीतले दाई-भाईप्रति बहिनीको प्रेम बोल्छ ।
‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’
अनिल संग्रौला निर्देशित फिल्म ‘माइती’मा समावेश यो गीत पनि तिहारको बेलामा बज्ने चर्चित गीतमा पर्छ । आनन्द कार्की, उदित नारायण झा, दीपा झा, नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंह प्रस्तुत उक्त गीतमा रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको र भाइटीका लगाएको परिवेश समावेश छ ।
‘अधरमा आज उनकै छ गीत’
तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ को ‘अधरमा आज उनकै छ गीत’ गीतले पनि तिहारको बयान गर्छ । रञ्जित गजमेरको संगीत रहेको गीतमा मनिला सोताङ्गको स्वर छ भने रत्न सम्सेर थापाको शब्द रचना छ । तिहारको परिवेश र देउसी–भैलो संस्कृतिलाई गीतमा देखाइएको छ ।
आकाश अधिकारी निर्देशित फिल्म ‘कोहिनूर’मा समावेश ‘यसपालिको तिहारै रमाइलो’ पनि तिहारमा धेरै गुञ्जिने गीतमा पर्छ । यसमा सुन्दर श्रेष्ठको शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा अञ्जु पन्त र प्रमोद खरेलको स्वर छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा बनेको गीतमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का नृत्य गर्दै प्रस्तुत छन् ।
फिल्म ‘बन्दी’मा पनि ‘भैलो खेलौं है भैलिनी हो’ बोलको तिहार गीत समावेश छ । निर्देशक लक्ष्मीनाथ शर्माले त भाइटीकाको कथावस्तुमा फिल्म ‘भाइटीका’ समेत बनाएका थिए । पछिल्लो समय भने तिहारको महत्व र परिवेश झल्किने गीत तथा कथावस्तु फिल्ममा समावेश हुन छाडेका छन् । यसैले वर्षेनि तिहारमा दशकअघिका गीतहरु नै सर्वाधिक घन्किने गरेका छन् ।