हरर, थ्रिलर, एक्सन र कमेडी विधामा फिल्म ‘डोरी’ निर्माण हुने भएको छ । तिहारको अवसर पारेर शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन् । यसअघि विभिन्न लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हुनेछ ।
सन् २०२५ मा रिलिज लक्ष्य राखिएको फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ । फिल्मका लागि अभिनेत्रीको भने टुंगो लागिसकेको छैन । यसमा निर्देशक लामा स्वयंको लेखन छ भने स्क्रिप्टलाई अझ प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन् ।
निर्देशक लामाले फिल्मले नयाँ शैलीको कथा प्रस्तुत गर्ने दाबी गरे । उनका अनुसार फिल्ममा हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिनेछ । यसको निर्मातामा ‘मिस्टर एक्स’ रहेका छन् भने कार्यकारी निर्माता राज थापा हुन् । सौरभ लामाको छायांकन रहने फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ ।