मिति : २०८१ कार्त्तिक २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’माथि भारी पर्‍यो ‘पूर्ण बहादुरको सारङ्गी’

फिल्मीखबर, काठमाडौं, 2024/11/05

नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले पनि बगाउँछ ।’ यतिबेला यो उखान प्रदर्शनरत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को हकमा चरितार्थ भएको देखिन्छ । प्रदर्शनअघि राम्रो ‘हाइप’ निर्माण नहुँदा फिल्मको व्यापार औसत हुनसक्ने धेरैको आँकलन थियो । तर, फिल्मले सबै अनुमान र गणितलाई गलत सावित गरेको छ । यतिबेला फिल्मले बक्स अफिसमा सुनामी ल्याएको छ ।

फिल्म प्रदर्शनपूर्व ‘काँधेकुरी’ गीत विस्तारै लोकप्रिय बन्दै थियो । तर, प्रचार प्रभावकारी बन्न सकेको थिएन । न त स्टारडम भएका कलाकार थिए । यसैले फिल्मप्रति प्रदर्शक (हल व्यवसायी)ले समेत ठूलो अपेक्षा गरेका थिएनन् । जसले गर्दा सुरुमा फिल्मले अपेक्षित शो पाउन सकेन । बरु प्रदर्शकहरुको भरोसा तिहारका दुई बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’मा देखियो । र, यिनै फिल्मलाई भएभरको शो थमाइयो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले पहिलो दिन (लक्ष्मीपूजा, बिहीबार) देशभर १ सय १० हाराहारी शो पाएको थियो । तर, पहिलो दिनै अकुपेन्सी कमजोर हुँदा र बलिउडका ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’को रिलिजका कारण दोस्रो दिन फिल्मको शो धेरै घट्यो । तर, बलियो ‘वर्ड अफ माउथ’पछि शनिबारबाट फिल्मले बक्स अफिसमा ल्याएको उछाल तिहार विदा सकिएपछि पनि कायम छ ।

 

purna bahadur ko sarangi


फिल्म हेर्न दर्शक ओइरिएपछि हलहरुले उल्लेख्य मात्रामा शो वृद्धि गरेका छन् । अहिले ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’भन्दा लगभग दोब्बर बढी शो फिल्मलाई दिइएको छ । मंगलबार देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र ७९ शो दिएको छ । जबकि, रिलिजको दिन यही चेनले जम्मा ३८ शो दिएको थियो । क्यूएफएक्सले फिल्मलाई ‘सुपरहिट’को मान्यता समेत दिइसकेको छ । व्यापारको आधारमा क्यूएफएक्सले फिल्मलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्ने गरेको छ ।

मंगलबार फिल्मले दुई सयभन्दा बढी शो पाएको वितरकले जनाएका छन् । र, अधिकांश शोमा बिहानैदेखि देशभर अकुपेन्सी उच्च छ । मंगलबार मात्र फिल्मले डेढ करोडमाथि व्यापार गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ सशक्त रहेकाले फिल्मले घरेलु बक्स अफिसमा १० करोडको आँकडा सजिलै कटाउन सक्ने देखिन्छ । फिल्मले प्रदर्शनको पाँच दिनमा ४ करोड ८७ लाख ग्रस व्यापार गरेको वितरकको दाबी छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ ठूलो जोखिम मोलेर प्रदर्शनमा आएको थियो । किनकि, फिल्मलाई हलमा टिक्न नै सहज थिएन । एकातिर दशैंका दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को हलमा दबदबा कायम थियो भने अर्कोतिर बलिउडका ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’को ठूलो ‘थ्रेट’ थियो । तर, यतिबेला सबै फिल्ममाथि ‘पूर्ण बहादुरको सारङ्गी’ भारी परेको छ ।

फिल्मको व्यापार आक्रामक बन्नुमा टिकटक सबैभन्दा ठूलो कारण मानिएको छ । फिल्म हेर्दा हलभित्रै दर्शकहरु रोएको भिडियो भाइरल बन्न थालेपछि त्यसले दर्शकमा हुटहुटी जगायो । फिल्मका केही भावुक दृश्यहरु पनि टिकटकमा छ्यापछ्याप्ती भए, जसले दर्शकलाई हलसम्म पुर्‍याएको छ । यतिबेला टिकटकले नै ‘पूर्ण बहादुरको सारङ्गी’लाई बचाएको विश्लेषण भइरहेको छ ।

बाबुले छोराका लागि देखेको सपनाको कथा फिल्मले भन्छ । यसमा अभिनेता विजय बराल शीर्ष भूमिकामा छन् । उनको छोराको भूमिकामा गायक समेत रहेका प्रकाश सपूत देखिएका छन् । फिल्म हेर्ने अधिकांशले विजयको अभिनयको बढी प्रशंसा गरेका छन् । कतिपय उनलाई ‘नेचुरल स्टार’को समेत ट्याग दिएका छन् । उनका लागि ‘पूर्ण बहादुरको सारङ्गी’ करिअरको ‘टर्निङ पोइन्ट’ बनेको छ । उनले शीर्ष भूमिकामा काम गरेको यो पहिलो फिल्म हो ।

Most Visited News (monthly)