कुनै बेला नेपाली फिल्ममा आफ्नो सशक्त उपस्थिति जनाएका अभिनेता उत्तम प्रधान विगत एक दशकदेखि अभिनयमा सक्रिय छैनन् । उनले पछिल्लो पटक मुख्य भूमिकामा काम गरेको फिल्म ‘इशारा’ (२०१२) थियो । यसपछि उनी ‘दर्पण छायाँ २’मा अतिथि भूमिकामा देखिए । दशैंअघि एक म्यूजिक भिडियोमा काम गरेका उत्तम अब फिल्ममा फर्किने भएका छन् ।
निर्माणको तयारीमा रहेको फिल्म ‘कल्ली’बाट उनको कमब्याक निश्चित भएको हो । यसै साता निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले भारतको सिक्किम पुगेर उनीसँग कागजी सम्झौता गरेका हुन् । प्रधानले लामो समयपछि फिल्ममा काम गर्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । फिल्ममा उनको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन ।
‘कल्ली’मा उत्तम भित्रिएसँगै कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यसमा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल निश्चित भइसकेका छन् । अभिनेत्रीको भने टुंगो लाग्न बाँकी छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
आगामी चैत्र २९ गतेबाट प्रदर्शन गर्न लागिएको फिल्मको छायांकन कर्णालीका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । रेड बर्ड प्रोडक्शन तथा कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पौराणिक कथामा बन्नेछ ।