मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मलाई फलिफाप बनेको दशैं र तिहार

फिल्मीखबर, काठमाडौं, 2024/11/06

नेपाली फिल्मका लागि दशैं र तिहार उत्सवझैँ बनिरहेको छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यी दुई ठूला चाडमा नेपाली फिल्मप्रति दर्शकको आकर्षण अद्भूत देखिन्छ । यसपालिको दशैं र तिहारमा देखिएको माहोल यसको प्रमाण हो । यसपटक यी दुई चाडमा नेपाली फिल्मले इतिहासमै सर्वाधिक कमाई गरेका छन् । लगभग ५० करोडको व्यापार दशैं र तिहारमा भएको छ ।

दशैंको घटस्थापनामा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले एक साता बक्स अफिसमा उत्साहजनक व्यापार गरेको थियो । तर, फूलपातीमा ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ आएपछि फिल्मले दोस्रो साता अपेक्षित शो पाउन सकेन । यसपछि निर्माताले तेस्रो हप्ता नपुग्दै फिल्मलाई हलबाट उतार्ने निर्णय लिए । यद्यपि, हलमा चल्दासम्म फिल्मले करिब ३ करोडको व्यापार गरिसकेको थियो । यो अंकलाई उत्साहप्रद नै मान्न सकिन्छ ।

 

nepali movie


फूलपातीका तीन फिल्ममध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले त बक्स अफिसमा सुनामी नै ल्याए । व्यापारमा टक्करको अवस्था देखियो । दशैं विदाभरि ‘छक्का पञ्जा ५’ व्यापारमा अगाडि देखिए पनि दशैंपछि ‘१२ गाउँ’ले शो र व्यापार दुवैमा उछिन्यो । यी दुई फिल्मले मात्र लगभग ४० करोड कमाएका छन् । अझै पनि हलमा दुवै फिल्मको पकड कायम छ । ‘ज्वाइँ साब’ले पनि ३ करोडमाथि कमाएको निर्माताको दाबी छ । यसरी हेर्दा दशैं नेपाली फिल्मका लागि फलिफाप नै बन्यो ।

‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को व्यापारिक रफ्तार कम नहुँदै तिहारको लक्ष्मीपूजा (कात्तिक १५ गते)बाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आयो । त्यसको भोलिपल्ट बलिउडका दुई ठूला सिक्वेल फिल्म ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’ रिलिज भए । तर, तिहारमा पनि दर्शकको रोजाईमा नेपाली फिल्म नै पर्‍यो । प्रदर्शनको दुई दिन कमजोर देखिएको ‘पूर्ण बहादुरको सारङ्गी’ले शनिबारदेखि सुनामी व्यापार गरिरहेको छ ।

यतिबेला यो फिल्मप्रति दर्शकको क्रेज अभूतपूर्व देखिएको छ । हलहरुले बिहान ६ बजेदेखि साँझ ११ बजेसम्म शो खुलाउँदा पनि टिकट पाउन सक्ने अवस्था छैन । प्रदर्शनको दिन शो बाँडफाँटमा चेपुवामा परेको फिल्मले यतिबेला कुल शोको ५० प्रतिशत ‘होल्ड’ गरेर बसेको छ । यसले ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को तिहार कब्जा गर्ने उद्देश्य चकनाचुर मात्र बनाएन, ठूलो ‘थ्रेट’ मानिएको तिहारका दुई बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’को व्यापार समेत प्रभावित बनाएको छ ।

यस वर्षको ‘सुपरहिट’ बनिसकेको यो फिल्मले प्रदर्शनको ६ दिनमा ६ करोडमाथि व्यापार गरेको जानकारी प्राप्त छ । फिल्मको व्यापारिक गति आक्रामक देखिएकाले छठ विदाभित्र १० करोडको आँकडा कटाउन सक्ने देखिन्छ । दशैंपछि तिहारमा नेपाली फिल्मले गरेको व्यापार र दर्शकको क्रेज इतिहासमै सम्झनलायक क्षण बनेको छ ।

त्यसो त अघिल्ला दशैं र तिहारमा पनि नेपाली फिल्मले राम्रो कमाएका थिए । गत वर्षको दशैंमा दुई फिल्म ‘परदेशी २’ र ‘भष्मे डन’ सुपरहिट भए । तिहारमा ‘दिमाग खराब’ पनि राम्रो चल्यो । तर, यसपालिको दशैं र तिहारमा जस्तो माहोल यसअघि देखिएको थिएन । यसले नेपाली फिल्मप्रति दर्शकको बढ्दो विश्वास दर्शाउँछ । अब यसलाई बचाएर राख्नुपर्ने ठूलो चुनौती देखिन्छ ।