मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’को ट्रेलर रिलिज, हरिहरको रोमान्टिक र एक्सन अवतार

फिल्मीखबर, काठमाडौं, 2024/11/06

नेपाली र दक्षिण भारतीय कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘ह्रस्व दीर्घ’ यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्मको दशैंमा रिलिज टिजरले राम्रो ‘हाइप’ बनाएको छ । अब फिल्म रिलिजका लागि ९ दिन बाँकी रहँदा बुधबार ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, विछोड र कमेडीको समिश्रण छ ।

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार-चढाव नै फिल्मको कथावस्तु हो । देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता)सँग हरि (हरिहर)को प्रेम अंकुराएको छ । तर, हरिहरको गरिमा शर्मासँग पनि प्रेम बसेको खुलेपछि उत्पन्न परिस्थितिलाई ट्रेलरमा चित्रण गरिएको छ । हरिहर रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत छन् । कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिन्छ ।

 

HRASHWO DEERGHA


अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाएकी छन् । साउथ अभिनेता ब्रह्मानन्दम नीताको मामाको भूमिकामा देखिएका छन् भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत छन् । साउथका कलाकारहरु अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

नीता यो फिल्मकी निर्मात्री समेत हुन् । पहिलोपटक उनले फिल्म निर्माणको अनुभव लिएकी हुन् । ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्ममा ६ करोड नेपाली खर्च भएको जानकारी दिइन् । सोचेको कुरा पूरा गर्न लडेर अगाडि बढ्यो भने सकिन्छ भन्ने अनुभव आफूले ‘ह्रस्व दीर्घ’ बनाउँदा गरेको उनको भनाई छ । भारतमा पनि फिल्म रिलिजको तयारी भइरहेको उनी बताउँछिन् ।

फिल्मको टिजर रिलिजपछि सामाजिक सञ्जालमा केहीले साउथ फिल्म ‘मगधीरा’बाट कपी गरिएको आरोप समेत लगाएका छन् । तर, निर्देशक चन्द्र पन्त कुनै फिल्मबाट एउटा ‘सट’ पनि कपी नगरिएको दाबी गर्छन् । भन्छन्, ‘हामीले कुनै विदेशी फिल्मको एउटा ‘सट’ पनि कपी गरेका छैनौं । यो नितान्त फ्रेस र नयाँ फिल्म हो । हामीले नयाँ दुनियाँ देखाउन खोजेका छौं ।’

हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता हिन्दी फिल्म खिचेका छन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी छन् ।