मिति : २०८१ मंसिर १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चलको दीपकलक्षित कटाक्ष- ‘भ्रम नछर्दा हुन्छ’

फिल्मीखबर, काठमाडौं, 2024/11/07

deepakraj giri and nischal basnet

 

नेपाली फिल्मकर्मीबीच बेला बखतमा कुनै न कुनै विषयमा घोचपेच र आरोप-प्रत्यारोप चलिरहेको छ । यतिबेला अभिनेता तथा हल व्यवसायी दीपकराज गिरी र निर्देशक निश्चल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । मंगलबार दीपकराजले फेसबुकमा स्टाटस लेख्दै फिल्मले शो पाएन भनेर उफ्रने फिल्मकर्मीप्रति कटाक्ष गरेपछि निश्चलले ‘काउन्टर’ जवाफ दिएका छन् ।

दीपकराजले फेसबुकमा लेखेका थिए, ‘प्रायः हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौं तर हेरौं त नगन्य शोबाट सुरू भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले आफूलाइ कहाँ पुर्‍यायो ? योभन्दा पहिला ‘१२ गाउँ’ त्यस्तै । समस्या कहाँ रहेछ त ?’ उनको यो कटाक्ष निश्चलप्रति लक्षित रहेको देखिन्थ्यो । किनकि, निश्चलले ‘बेहुली फ्रम मेघौली’ले अपेक्षित शो नपाएको भन्दै हलबाट फिल्म उतारेका थिए । यसैले दीपकको कटाक्षमा निश्चल चुप बस्न सकेनन् ।

 

उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै विदेशी फिल्म राम्रो हुन्छ भनेर पहिल्यै सोच्ने र छरपस्ट शो दिनसक्ने दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ र राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन भन्दै प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘सधै नेपाली फिल्मले चाहिँ प्रमाणित गरिरहनु पर्ने हो ? निर्माताले शो थपिदिनुन् भनेर गुहार्नु पर्ने नै हो ? प्रष्ट छ... विदेशी फिल्मको शो घटाइएर नेपाली फिल्मलाई दिएका छौं भनेर भ्रम नछर्दा हुन्छ ।’

नेपाली फिल्मले आफ्नो बलबुतामा दर्शकलाई हलसम्म ल्याएको उनको दाबी छ । ‘यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो–हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो,’ उनी लेख्छन्, ‘कमसेकम फिल्म बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइनँ । बोल्नभयो, ठीक गर्नुभयो, चिनियो ।’ निश्चलले स्टाटसमा नाम उल्लेख नगरे पनि उनको संकेत दीपकप्रति रहेको प्रष्ट बुझिन्छ ।

 

निश्चलको स्टाटसलाई लिएर दीपकराजको कुनै प्रतिक्रिया आएको छैन । तर, उनले बिहीबार बिहान आफ्नो एक तस्वीर फेसबुकमा सेअर गर्दै लेखेको स्टाटस भने निश्चितप्रति नै लक्षित देखिन्छ । उनले लेखेका छन्, ‘संसारमा सबै प्रश्नका उत्तर हुन्छन्, तर मौनता सबैभन्दा राम्रो र जटिल उत्तर हो ।’ आफूसँग प्रश्नको उत्तर भए पनि मौन बस्नु नै राम्रो उत्तर हुने उनको आशय छ ।