मिति : २०८१ मंसिर १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोका लागि ‘सानो संसार’ निर्माताको हारगुहार

फिल्मीखबर, काठमाडौं, 2024/11/07

arjun kumar

 

नेपाली फिल्म क्षेत्रको टड्कारो समस्या बनेको छ, शो बाँडफाँट । एकसाथ धेरै फिल्म रिलिज हुँदा र ठूलो विदेशी फिल्म आउँदा शो बाँडफाँटलाई लिएर ठूलै विवाद हुन्छ । यसपटकको दशैं र तिहारमा पनि यही समस्या देखियो । घटस्थापनामा आएको ‘बेहुली फ्रम मेघौली’ले दोस्रो हप्तामा अपेक्षित शो नपाएपछि निर्माताले फिल्म नै हलबाट उतारिदिए । र, ओटीटीमा रिलिज गरे ।

फूलपातीमा आएको ‘ज्वाइँ साब’का निर्माताले पनि पर्याप्त शो नपाएको भन्दै गुनासो गरिरहे । यतिबेला फिल्म ‘सानो संसार’का निर्माताको गुनासो पनि यही छ । कात्तिक ९ गते रि-रिलिज भएको यो फिल्मलाई यतिबेला देशभर एउटा मात्र शो छ, क्यूएफएक्सको राइजिङ मलमा । अरु हलबाट फिल्म उत्रिसकेको छ । ‘वर्ड अफ माउथ’ राम्रो हुँदा पनि हलहरुले शो नदिएको भन्दै निर्माता अर्जुन कुमार हारगुहार गरिरहेका छन् ।

उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै सबै हलहरुले एक-एकवटा शो दिन आग्रह गरेका छन् । उनी लेख्छन्, ‘हल सञ्चालक साथीहरु ‘सानो संसार’लाई एक-एक शो सबैले दिनु न । एक शो दिँदा तपाइँलाई घाटा हुँदैन, जुन टाइममा भए पनि हुन्छ ।’

गत असोज ११ गते पहिलोपटक प्रदर्शन हुँदा ‘सानो संसार’ प्राकृतिक विपत्तिको मारमा पर्‍यो । निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि निर्माताले दुई दिनमै फिल्मलाई हलबाट उतार्ने निर्णय गरे । पुनः प्रदर्शनमा भने दशैंका दुई फिल्म ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को चेपुवामा पर्‍यो । व्यापार राम्रो नहुँदा प्रायः हलहरुले दुई दिनमै फिल्म उतारे । यतिबेला एउटा शो जोगाउन फिल्मले संघर्ष गरिरहेको छ । अब फिल्मको शो बढ्ने सम्भावना न्यून देखिन्छ ।