मिति : २०८१ मंसिर १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अग्निदहन’को ट्रेलर : बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा

फिल्मीखबर, काठमाडौं, 2024/11/07

AGNIDAHAN

 

नेपालको कानुनले बोक्सी कुप्रथालाई दण्डनीय मानेको छ । तर, समाजमा अझै पनि बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार हुने गरेका घटना बेला बखतमा बाहिरिरहेका हुन्छन् । यसैले फिल्मकर्मीहरु पनि यस्ता विषयमा फिल्म बनाउन बाध्य छन् । गत बैशाखमा बोक्सी कुप्रथाको कथामा बनेको फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो । अब यही विषयमाथि बनेको अर्को फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्मको बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत् सार्वजनिक २ मिनेट ३८ सेकेण्ड लामो ट्रेलरले कथावस्तुबारे प्रकाश पार्छ । बोक्सीको आरोपमा महिलालाई दिइने यातना र एक युवतीको मनोदशालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । बोक्सीको नाममा महिलामाथि हुने हिंसा समाजमा अझै नरोकिएको यथार्थ ट्रेलरले पेश गर्छ ।

लोकमणी पौडेलको लेखन रहेको फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा. निर्मल लामिछाने, तारा बहादुर गुरुङ लगायतको अभिनय छ । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको निर्देशक लामिछानेले बताएका छन् ।

फिल्ममा कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ दिइसकेको छ । ट्रेलर रिलिजसँगै फिल्मको पोखराबाट मोफसल प्रचार यात्रा सुरु गरिएको छ ।