मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शो संख्यामा ‘पूर्ण बहादुरको सारङ्गी’को कीर्तिमान, एक साताको कमाई ८ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2024/11/07

purna bahadur ko sarangi

 

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको दुई दिन हलमा टिक्नै संघर्ष गरेको फिल्म यतिबेला व्यापारिक रुपमा रेकर्ड बनाउने बाटोमा देखिएको छ । गत शनिबारबाट आक्रामक रुपमा अगाडि बढेको फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले दाबी गरेको छ ।

दिनहुँ व्यापारमा उछाल कायम गरिरहेको फिल्मले शो संख्यामा भने ऐतिहासिक रेकर्ड बनाएको छ । फिल्मले बिहीबारबाट देशभरका ८९ हलमा ३ सय ८० बढी शो प्राप्त गरेको वितरकले जनाएका छन् । यो नेपाली फिल्मले प्राप्त गरेको हालसम्मकै उच्च शो हो । यसअघि यो रेकर्ड घटस्थापना (असोज १७)मा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को नाममा थियो, जसले प्रदर्शनको पहिलो दिन ३ सय ४० शो प्राप्त गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले बिहीबार नै १० करोडको आँकडा कटाउने देखिन्छ । एकातिर छठको विदा र अर्कोतिर प्राप्त शोजमा देशभर शतप्रतिशत अकुपेन्सी रहेकाले बिहीबार फिल्मको व्यापार २ करोडमाथि हुने प्रक्षेपण गरिएको छ । फिल्मको शनिबारसम्म नै बुकिङ आक्रामक देखिएको छ । बिहान ६ बजेदेखि बेलुकाको ११ बजेसम्म शो खुलाउँदा पनि देशभरका हलहरुले दर्शकको माग धान्न सकेका छैनन् । अधिकांश हलमा टिकटको हाहाकार देखिन्छ ।

फिल्मको आक्रामक गति हेर्दा २० करोडको आँकडा त्यति टाढा देखिँदैन । यसले आगामी रिलिज फिल्मलाई समेत ठूलो समस्या पार्न सक्ने विश्लेषण भइरहेको छ । आगामी हप्ता ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ गरी दुई नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । ‘पूर्ण बहादुरको सारङ्गी’को चुलिँदो क्रेजका कारण यी दुई फिल्मले पर्याप्त शो पाउनेमा आशंका देखिन्छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ हेर्ने दर्शकहरु हलभित्रै रोएका भिडियो टिकटकजस्ता प्लेटफर्ममा भाइरल हुँदा त्यसले फिल्मको व्यापारमा ठूलो फाइदा पुर्‍याएको छ । तिनै भिडियोले दर्शकलाई हलसम्म तानिरहेको छ । फिल्मलाई समीक्षा भने मिश्रित मिलेको छ । यद्यपि, अभिनेता विजय बरालको अभिनयको प्रशंसा भइरहेको छ । उनलाई दर्शकले ‘नेचुरल स्टार’को समेत उपमा दिएका छन् ।