दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा आबद्ध भएपछि कलाकार केदार घिमिरे (माग्ने बुढा)लाई बाहिरी फिल्ममा काम गर्न अनुमति थिएन । तर, टिम साघुरिँदै गएपछि दीपक-दीपाले केदारलाई स्वतन्त्र हिसाबले काम गर्न छाडिदिएका छन् । अर्थात् उनलाई अब अरु फिल्म गर्न रोकतोक छैन । यसैले केदारले पनि लगातार बाहिरी फिल्म सम्झौता गरिरहेका छन् ।
गत वर्ष उनी फिल्म ‘कङ्गारु’मा भित्रिएका थिए । तर, यो फिल्म निर्माण हुन सकेको छैन । यसपछि ‘जेरी अन टप’ सम्झौता गरे । यतिबेला यही फिल्मको छायांकनमा व्यस्त रहेका उनले आफ्नो ‘पाइपलाइन’मा अर्को फिल्म पनि थपेका छन् । उनले निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा काम गर्न लागेका हुन् । बिहीबार केदार र निर्देशक लामिछानेबीच कागजी सम्झौता भएको हो ।
प्राप्त जानकारी अनुसार, फिल्मको शीर्ष भूमिकामा केदारले अभिनय गर्नेछन् । अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि, नाम तय भइसकेको छ । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् ।
सामिप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले विछोड’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।