मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘सङ्ग्रामपुर’ उपन्याससँग ‘सारङ्गी’को कथा मिलेको भन्दै लेखक भन्छन्, ‘यो संयोग होइन, नियोजित हो’

फिल्मीखबर, काठमाडौं, 2024/11/10

purna bahadurko sarangi

 

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ घरेलु बक्स अफिसमा इतिहास रच्ने बाटो छ । शो संख्यामा कीर्तिमान बनाइसकेको फिल्मले व्यापारमा नयाँ मानक सिर्जना गर्ने सम्भावना देखिएको छ । बिहान ५ बजेदेखि साँझ ११ बजेसम्म शो खुलाउँदा पनि देशभर टिकटको हाहाकार देखिन्छ । फिल्मको कथा र कलाकारको अभिनयले दर्शकलाई रुवाइरहेको छ ।

तर, फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गरिरहँदा यसको मूल कथा सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको आरोप लागेको छ । यस उपन्यासका लेखक डा. शिव शंकर बस्यालले फिल्म हेरिसकेपछि शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार प्रस्तुत गरेका छन् । उनले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको देखिन्छ ।

फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै ‘सङ्ग्रामपुर’मा रूपमान र समीर, ‘सङ्ग्रामपुर’मा स्त्री विछोडको प्रशंग फिल्ममा पनि हुनु, उपन्यासको समीरजस्तै कमल पनि टप विद्यार्थी हुनु, समीरले जस्तै कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु, रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता फिल्मको कथाका मूल प्रशंगहरु उपन्याससँग मिलेको लेखक बस्यालको दाबी छ ।

उनी लेख्छन्, ‘यीबाहेक सूक्ष्म ढङ्गले ‘सङ्ग्रामपुर’ उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ । पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रशंग, आफ्नो तिग्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाँ चित्रसँग मिल्छन् ।’ उनले कथा मिल्नुलाई संयोग नभइ नियोजित रहेको बताएका छन् । तर, आफूले कुनै लोभ, लालच र प्रपञ्चले यसो नभनेको उनको भनाई छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा तयार भएको ‘पूर्ण बहादुरको सारङ्गी’मा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ । उपन्याससँग फिल्मको मूल कथा मिलेको भन्ने आरोपलाई लिएर अहिलेसम्म निर्देशक पौडेल र लेखक दवाडीबाट स्पष्टीकरण आएको छैन । फिल्मले छोराका लागि बाबुले देखेको सपनाको कथा भन्छ । बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूतले अभिनय गरेका छन् । फिल्म ‘सुपरहिट’ भइसकेको छ ।