अभिनेता आर्यन सिग्देल अभिनयमा मात्र होइन, निर्माणमा पनि सक्रिय छन् । उनले पछिल्लो पटक फिल्म ‘कायरा’ (२०७५) निर्माण गरेका थिए । यद्यपि, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । यसपछि अभिनयमै जोड दिएका उनी फेरि फिल्म निर्माणमा फर्किँदैछन् । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको छ ।
केही दिनअघि आर्यनले इन्स्टाग्राममा स्क्रिप्टका पाना मिलाइरहेको भिडियो सेअर गरेका थिए । नगरकोटमा स्क्रिप्ट लेखनको काम भएको थियो । फिल्मको नाम सार्वजनिक नगरिएको भए पनि आर्यनले निर्देशनको प्रस्ताव दिनेश राउतलाई गरेका छन् । यसअघि उनीहरुबीच ‘पूजार सार्की’, ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा सहकार्य भइसकेको छ ।
निर्देशक राउतले आफूलाई निर्देशनको प्रस्ताव आएको स्वीकार गरे । उनी निर्देशनका लागि तयार पनि देखिएका छन् । उनले फिल्मीखबरसँग भने, ‘मलाई कथा मन परेको छ । कथा मन परेपछि काम गर्न समस्या छैन । तर, मैले वचन दिएका केही प्रोजेक्ट गर्नुपर्नेछ । त्यसपछि आर्यनको फिल्म हुनसक्छ ।’ निर्देशक राउत यसै वर्ष नयाँ फिल्म ‘गाउँ नै रमाइलो’ निर्देशनको तयारीमा छन् । यसपछि उनले आर्यनको फिल्म निर्देशन गर्ने सम्भावना छ ।
आर्यन र दिनेश मिल्ने साथी समेत हुन् । दिनेशले आफ्नो करिअरको पहिलो फिल्म (आई एम सरी) नै आर्यनलाई लिएर बनाएका थिए । ‘क्लासिक’पछि भने उनीहरुबीच लामो समय सहकार्य हुन सकेन । एउटा फिल्मलाई लिएर मनमुटाव हुँदा दुवै दुई ध्रुव भएका थिए । तर, ‘पूजार सार्की’मा उनीहरुबीच पुनः सहकार्य भयो । अब दिनेशको ‘गाउँ नै रमाइलो’मा पनि आर्यन देखिँदैछन् ।