मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सारङ्गी’ले बनाएको दुई दुर्लभ कीर्तिमान, जुन तोडिन सहज छैन

फिल्मीखबर, काठमाडौं, 2024/11/11

कीर्तिमान भनेको तोडिनका लागि बन्छ । संसारमा असम्भव मानिएका कयौं कीर्तिमान तोडिएका छन् । तर, फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएको दुर्लभ कीर्तिमान तोडिन सहज देखिँदैन । लक्ष्मीपूजा (कात्तिक १५ गते)बाट प्रदर्शनमा आएको यो फिल्मले शो संख्या र व्यापारमा कीर्तिमान रचेको छ । सर्वाधिक शो पाउने नेपाली फिल्मको रेकर्ड आफ्नो नाममा बनाएको फिल्मले एक दिनमै सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान पनि कायम गरेको छ ।

घटस्थापनामा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले सर्वाधिक शोको कीर्तिमान रचेको थियो । यसले पहिलो दिन ३ सय ३५ शो पाएको थियो । यो रेकर्डलाई ‘पूर्ण बहादुरको सारङ्गी’ले दोस्रो हप्ताको सम्मुखमा तोड्यो । अहिले ४ सय ७० बढी शोसहित फिल्म प्रदर्शनरत छ । यो कूल शोको लगभग ७० प्रतिशत हिस्सा हो । अब यो रेकर्ड तोड्न अन्य नेपाली फिल्मलाई सहज देखिँदैन ।

 

purna bahadur ko sarangi


शुक्रबार र शनिबार फिल्मले अर्को कीर्तिमान रच्यो । यसले दोस्रो हप्ताको शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाखको व्यापार गर्दै एकै दिनमा सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान आफ्नो नाममा गरेको छ । यसअघि एकै दिनमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘कबड्डी ४’ले बनाएको थियो, जसको पहिलो दिनको कमाई २ करोड ९० लाख ग्रस थियो । अब यो रेकर्ड तोडिएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले दोस्रो हप्ताको शनिबारसम्ममा घरेलु बक्स अफिसमा झन्डै १८ करोड जोडेको छ । प्रदर्शनको १० दिनसम्ममा फिल्मको कूल कमाई १७ करोड ९८ लाख पुगेको छ । यो व्यापार अंक अद्भूत हो । फिल्मको गति अझै केही दिन यस्तै रहेको खण्डमा यसले ‘कबड्डी ४’को नाममा रहेको साढे २३ करोडको ऐतिहासिक रेकर्ड तोड्न सक्ने देखिन्छ ।

फिल्मले दर्शकलाई बिहान ४ बजे र साँझ ११ बजेसम्म हलमा तानिरहेको छ । तैपनि देशभर टिकटको हाहाकार देखिन्छ । हरेक उमेर समूहका दर्शक फिल्म हेर्न पुगेका छन् । फिल्म हेर्दा रोएका भिडियोले टिकटक कब्जा गरेको छ । त्यही भिडियो हेरेर हल पुग्ने दर्शकको संख्या उस्तै छ । कतिलाई फिल्मको नाम समेत थाहा हुँदैन । ‘रुवाउने फिल्म’ भन्दै हलमा टिकट मागिरहेका छन् । सम्भवतः यो किसिमको क्रेज नेपाली फिल्मले यसअघि देखेको थिएन ।

बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्ने फिल्ममा विजय बराल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ लगायतको अभिनय छ । बाबुले छोराका लागि देखेको सपनाको कथा फिल्मले भन्छ । फिल्ममा जीवन्त अभिनय गरेका विजय बराललाई दर्शकले ‘नेचुरल स्टार’को उपमा दिएका छन् । उनले मुख्य भूमिकामा काम गरेको यो पहिलो फिल्म हो ।