मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’का निर्देशक पन्तलाई प्रश्न : ‘भारतीय कलाकार काम कि नामका लागि ?’

फिल्मीखबर, काठमाडौं, 2024/11/11

chandra panta

 

चन्द्र पन्त द्वन्द्व निर्देशनमा स्थापित नाम हो । उनले दुई दर्जन बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका छन् । यही शुक्रबार अर्थात् कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘ह्रस्व दीर्घ’ उनी निर्देशित पहिलो नेपाली फिल्म हो । यसअघि उनले दुईवटा भोजपुरी फिल्म ‘निरहुआ चलल लण्डन’ र ‘माही’को निर्देशन गरिसकेका छन् ।

भोजपुरी फिल्म गर्दा भारतीय कलाकार र त्यहाँका मेकरहरुसँग उनको राम्रो चिनजान रह्यो । यसैले त ‘ह्रस्व दीर्घ’मा उनले दक्षिण भारतका नाम कहलिएका कलाकारलाई भित्राउन सफल भए । थुप्रै सफल बलिउड फिल्म खिचेका कबिरलाल छायाँकारको रुपमा जोडिए । यो चन्द्रकै देन हो । भारतीय कलाकार र छायाँकारलाई फिल्ममा लिएकै कारण उनीमाथि धेरै प्रश्न पनि उठेका छन् । तिनै प्रश्न र फिल्मसँग सम्बन्धित अन्य विषयमा केन्द्रित रहेर निर्देशक पन्तसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

१. फिल्ममा साउथका नाम चलेका कलाकारहरु छन् । उनीहरु नामका लागि कि कामका लागि ?

कुरा ब्रम्हानन्दमकै गरु । धेरैले ब्रह्मानन्दमको ‘गेस्ट रोल’ होला भन्ने सोचिरहेका छन् । मलाई के लाग्छ भने उहाँले अहिलेसम्म १४ सयभन्दा बढी फिल्म गरिसक्नुभएको छ । सबैभन्दा लामो रोल नै हाम्रो फिल्ममा छ । २५/२६ सिन भनेको सानो होइन ।

‘गजनी’ भिलेन प्रदीप रावतले १२ दिन छायांकन गर्नुभयो । उहाँको कति लामो रोल छ भन्ने यसबाटै थाहा हुन्छ । ‘पुष्पा’ भिलेन सुनिल बर्माको क्यारेक्टर पनि फिल्ममा चाहिएको बेला देखिन्छ । उहाँको पनि राम्रो रोल छ । हामीले नामका लागि नभइ कामका लागि भारतीय कलाकार लिएका हौं  ।

२. नेपालमा पनि ‘ह्रस्व दीर्घ’लाई हिन्दी भाषामा चलाउन खोज्नुभएको छ । त्यो जरुरी छ ?

त्यस्तो जरुरी त होइन । पहिला एउटा फिल्म (प्रेमगीत ३) पनि हिन्दी भाषामा रिलिज हुँदा राम्रो भएको थियो । नेपालमा राम्रो भयो भने ओभरसिज रिलिजमा फाइदा हुन्छ भन्ने वितरकको सल्लाहपछि हामीले हिन्दीमा पनि चलाउन लागेका हौं ।

सुरुमा हामीले हिन्दीमा रिलिज गर्ने तयारी गरेका थिएनौं । अब चाहिँ हिन्दी र नेपाली नै विश्वभर रिलिज गर्न लागेका हौं । ‘ह्रस्व दीर्घ’भन्दा एक दिनअघि साउथको ‘कंगुवा’ पनि आउँदैछ । त्यसलाई हाम्रो फिल्मले दबाउन सक्यो भने दक्षिण भारतमा ‘ह्रस्व दीर्घ’ले ठूलो मार्केट पाउने सम्भावना छ । त्यसले गर्दा पनि नेपालमा नेपाली र हिन्दी दुवै भाषामा फिल्म लगाउन लागेका हौं ।

३. ‘ह्रस्व दीर्घ’मा हरिहर अधिकारी नै हिरो हुनुको कारण केही छ ?

यो फिल्मको हिरो हरिहर र हिरोइन नीता ढुंगाना होइनन् । फिल्ममा यतिधेरै कलाकार छन्, हरेकलाई एक सिन दिने हो भने पनि फिल्मका लागि लम्बाई पुग्छ । यसैले हरिहर वा नीता हुनैपर्छ भनेर बनाएको फिल्म होइन । यो एउटा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन भएको फिल्म हो । हामीले नदेखेको र नसुनेको कहानी छ, जसलाई एकदमै ठूलो ‘क्यानभास’मा देखाएका छौं ।

यसमा हरिहरजी लिडमा हुनुहुन्छ होला, तर उहाँभन्दा बलियो चरित्र अरु कलाकारको छ । अनि अर्को कुरा हाम्रो फिल्म सकिनुभन्दा २० मिनेट अगाडि सुरु हुन्छ । त्यो २० मिनेटमा फिल्मले यस्तो ‘पिकअप’ लिन्छ, जुन अद्भूत छ । र, यो पनि दाबी गर्छु कि कुनै पनि फिल्मसँग एउटा सट पनि ‘ह्रस्व दीर्घ’को मिल्दैन ।

 

chandra panta 2


४. फिल्मका लागि नेपाल कलाकारलाई प्रस्ताव नराखी सिधै भारतीय कलाकार लिइएको हो ?

म आउनुभन्दा अगाडि यसको निर्देशकमा नीताजी हुनुहुन्थ्यो । त्यसबेला फिल्मको ‘ग्राफ’ सानो थियो । म आएपछि चाहिँ यसलाई ठूलो ‘ग्राफ’मा बनाउनुपर्छ भनेर तयारी थाल्यौं । पहिला ब्रह्मानन्दमको चरित्रमा जितु नेपाल फाइनल हुनुहुन्थ्यो । जब उहाँले ‘ह्यारी कि प्यारी’मा पाउनुभयो, ‘ह्रस्व दीर्घ’ छाड्नुभयो । किनकि, यसमा उहाँ कमेडियन हुनुहुन्थ्यो, त्यसमा लिड रोल थियो ।

हामीले राजेश हमाल दाईलाई पनि फिल्म अफर गरेका थियौं । उहाँले खेल्न मान्नुभएन । पहिला सलोन बस्नेत पनि फिल्ममा हुनुहुन्थ्यो । उहाँ आफैंले ‘जय हो’ फिल्म बनाउने भएपछि ‘ह्रस्व दीर्घ’ छाड्नुभयो । नेपाली कलाकारहरुले छाडेपछि राम्रो कलाकार लिनुपर्छ भनेर प्रयास गर्दा भारतीय कलाकार जोडिनुभएको छ ।

छायाँकार पनि नेपालकै लिने सोच थियो । एक छायाँकारलाई मैले पटक-पटक फोन गर्दा पनि उठेन । त्यसपछि मैले सिधै कबिरलाललाई फोन गरेँ, उहाँ एकपटकमै तयार हुनुभयो ।

५. ब्रह्मानन्दमले लामो समयदेखि साउथकै फिल्म गरिरहेका छैनन् । ‘ह्रस्व दीर्घ’ खेल्न कसरी तयार भए ?

ब्रह्मानन्दमले पछिल्लो पटक गरेको फिल्म ‘कल्की’ हो । यसमा दुई सिन छ । अर्को ‘इन्डियन २’ हो, जसमा एक सट छ । उहाँ अहिले फिल्म नै गर्नुहुन्न । धेरै ठाउँबाट ‘पावर’ लगाउँदा पनि उहाँले ‘ह्रस्व दीर्घ’मा काम गर्न मान्नुभएको थिएन । त्यसपछि म आफैं उहाँको घर हैदराबाद गएँ । उहाँसँग कुरा गरेको १० मिनेट काम गर्न तयार हुनुभयो ।

उहाँले हैदराबादमा छायांकन राख्नु र झापड नहान्नु भन्नुभएको थियो । तर पछि उहाँले झापड पनि खानुभयो ।

६. कलाकारहरुको गेटअप हेर्दा धार्मिक फिल्मजस्तो देखिन्छ नि ?

कलाकारको गेटअप त्यस्तो देखिए पनि यो धार्मिक फिल्म होइन । यसमा धर्मसँग सम्बन्धित कुरा धेरै छ तर धार्मिक फिल्म चाहिँ होइन । विशुद्ध लभस्टोरी र फेमिली ड्रामा हो । यसको सबैभन्दा बलियो पक्ष भनेको ‘इमोसन’ हो ।

७. धेरै कलाकार लिँदा फिल्म इँटाजस्तो बन्ने गरेका छन् । ‘ह्रस्व दीर्घ’ के होला ?

हरेक फिल्ममा २०/२५ जना कलाकार त हुन्छन् नै । हाम्रोमा चाहिँ ती कलाकार पनि नाम चलेका भए । तर, बिना कलाकार फिल्म बन्दैन । हाम्रोमा कलाकार नाम चलेका होलान् तर फिल्ममा जहाँ चाहिएको छ, त्यहीँ राखेका छौं । हरेक कलाकारको उठान र बैठान सही तरिकाले भएको छ ।