मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल नआउने भयो ‘कंगुवा’, ‘ह्रस्व दीर्घ’लाई राहत

फिल्मीखबर, काठमाडौं, 2024/11/12

HrashwoDeergha

 

कुनै बेला नेपालको बजारमा भारतीय फिल्मको हालीमुहाली थियो । तर, अहिले परिस्थिति बदलिएको छ । केही वर्षयता भारतीय फिल्ममाथि नेपाली फिल्म हाबी भइरहेका छन् । गत वर्ष बलिउडको ‘टाइगर ३’ जस्तो ठूलो फ्रेन्चाइज फिल्मलाई समेत ‘दिमाग खराब’ले नेपालका हलमा टिक्न दिएन । यो नेपाली फिल्मले हासिल गरेको ठूलो सफलता थियो ।

यसपालिको दशैंमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा ल्याएको सुनामीका कारण बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘जिग्रा’ नेपालमा नराम्रोसँग डुब्न पुग्यो । तिहारमा आएको ‘पूर्णबहादुरको सारङ्गी’को सामु दुई बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भूलैया ३’ पनि निरीह बन्न पुगेका छन् । यी दुई फिल्मका नेपाल वितरक ठूलो घाटामा जाने निश्चित देखिएको छ ।

नेपाली फिल्मप्रति दर्शकको आकर्षण बढ्दा भारतीय फिल्म प्राथमिकतामा पर्न छाडेका छन् । यसैले भारतीय फिल्म ठूलो मूल्यमा नेपाल ल्याउन वितरकहरु पनि हच्किन थालेका छन् । मूल्यकै कारण साउथको ठूलो फिल्म ‘कंगुवा’लाई समेत नेपाल नल्याइने भएको छ । ए–एट् कम्पनीले यो फिल्म नेपाल ल्याउन खोजेको थियो । तर, भारतका वितरकले एक करोड २० लाख भारु मूल्य भनेपछि नेपालका वितरकले जोखिम उठाउने हिम्मत गरेनन् ।

‘कंगुवा’लाई नेपाल नल्याउने अवस्था सिर्जना हुनुमा सबैभन्दा ठूलो कारण ‘पूर्णबहादुरको सारङ्गी’ नै हो । यसले बक्स अफिसमा जुन किसिमको झंकार पैदा गरेको छ, त्यो असामान्य छ । व्यापारमा दिनहुँ नयाँ-नयाँ रेकर्ड बनाइरहेको फिल्मले शो पनि अधिकांश कब्जा गरेको छ । यो अवस्थामा ‘कंगुवा’ न्यून शोमा खुम्चिनुपर्ने हुन्थ्यो । जसले गर्दा लगानी उठाउन सम्भव नदेखिएपछि नेपालका वितरक पछाडि हटेका हुन् ।

यही शुक्रबारबाट रिलिज हुन लागेको ‘ह्रस्व दीर्घ’को डर पनि वितरकमा देखिएको हुनसक्छ । किनकि, अहिले नेपाली फिल्म अनपेक्षित रुपमा चलिरहेका छन् । यद्यपि, ‘कंगुवा’ नेपाल नआउँदा ‘ह्रस्व दीर्घ’लाई ठूलो राहत मिलेको छ । किनकि, ‘कंगुवा’ले केही मात्रामा शो खोस्न सक्थ्यो । अब यो अवस्था टरेको छ । तथापि, ‘पूर्णबहादुरको सारङ्गी’को भय भने फिल्मलाई रहनेछ ।