दीपावलीमा रिलिज भएको अजय देवगन अभिनीत फिल्म ‘सिंघम अगेन’मा सुपरस्टार सलमान खानको केमियोको ठूलो चर्चा भयो । ‘दबंग’को ‘आइकनिक’ कप अवतार चुलबुल पाण्डेको रुपमा प्रस्तुत भएका उनको इन्ट्रीसँगै फिल्मले विट मारेको छ । र, भनिएको छ, ‘मिशन चुलबुल सिंघम लोडिङ सून ।’ यसले के प्रष्ट पार्छ भने अब सलमान र अजय एकसाथ फिल्ममा देखिनेछन् ।
कतिपयले ‘सिंघम’को चौथो श्रृंखलामा चुलबुल पाण्डे र बाजीराव सिंघमलाई प्रस्तुत गर्न लागिएको अड्कल काटेका छन् । तर, निर्देशक रोहित शेट्टीले सलमान र अजयलाई लिएर बन्ने फिल्म कप यूनिभर्सको हिस्सा नहुने प्रष्ट पारेका छन् । दुई स्टार एकसाथ आउनु आफैंमा एउटा अलग फिल्मको कहानी हुने उनको भनाई छ ।
‘सलमान र अजय एकसाथ आउनु एक अलग फिल्मको कहानी बन्नेछ । त्यो कप यूनिभर्सको हिस्सा हुने छैन,’ उनले भनेका छन्, ‘हामी आफ्नो अलग्गै चरित्र बनाउँदै थियौं । उनीहरु (सलमान र अजय) एकअर्काको कहानीमा आइरहेका थिए, यसैले हामीले एक यूनिभर्स निर्माण गर्यो । तर, यी दुवै (कप यूनिभर्स र दबंग) दुई अलग इन्टेलेक्चुअल प्रपर्टी हुन् ।’
सबै कुरा ठीक रहेको खण्डमा सलमान र अजयलाई लिएर बन्ने फिल्ममा नयाँ चीज हुने उनको दाबी छ । ‘चुलबुल हाम्रो यूनिभर्समा छैनन्, न सिंघम कहीँ जानेवाला छ । यी दुई इन्टेलेक्चुअल प्रपर्टी हुन् र दुई यूनिभर्स हुन्, जो एक फिल्मका लागि मिल्नेछन्,’ उनले भनेका छन् । उनका अनुसार, सलमान र अजय हुने फिल्म तत्काल बन्ने छैन । त्यसका लागि केही समय लाग्ने उनको भनाई छ ।