मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा ‘सारङ्गी’ले बनायो सर्वाधिक कमाईको रेकर्ड

फिल्मीखबर, काठमाडौं, 2024/11/13

Bijay Baral

 

अब ‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने फिल्म रहेन । यसको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले तोडेको छ । दुई वर्षअघि ‘कबड्डी ४’ले २३ करोड ५० लाख (निर्माताको दाबीअनुसार) कमाउँदै सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको थियो । यो आँकडा ‘सारङ्गी’ले १३ दिनमा नै कटाएको छ । फिल्मले मंगलबारसम्म २५ करोडमाथि कमाई गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टको दाबी छ । चलचित्र विकास बोर्डले भने बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन ।

मंगलबार मात्र फिल्मले २ करोड ५ लाख ग्रस कमाई गरेको वितरक मनोज राठीले जनाएका छन् । बुधबार पनि फिल्मले २ करोडमाथि व्यापार गर्ने उनको आँकलन छ । यसरी हेर्दा फिल्मले घरेलु बजारमा नै ३० करोडको आँकडा सजिलै पार गर्न सक्ने देखिन्छ । डेढ करोडमा निर्माण भएको फिल्मले पहिलो साता नवित्दै निर्मातालाई मुनाफा दिन थालेको थियो । अब सबैभन्दा बढी मुनाफा दिने फिल्म नै यही बनेको छ ।

‘सारङ्गी’ले सर्वाधिक कमाईको रेकर्ड मात्र बनाएको छैन, धेरै शो पाउने र एकैदिन धेरै कमाई गर्ने फिल्मको कीर्तिमान पनि रचेको छ । फिल्मले पहिलो हप्ताको अन्त्यबाट साढे ४ सय बढी शो पाएको थियो भने दोस्रो हप्ताको शनिबार ३ करोड ८९ लाख कमाउँदै एकैदिन सबैभन्दा बढी कमाई गर्ने फिल्मको कीर्तिमान बनाएको थियो । यसअघि बनेका प्रायः सम्पूर्ण रेकर्ड फिल्मले तोडेको छ ।

प्रदर्शनको दुई दिन (बिहीबार र शुक्रबार)सम्म फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नै सकेको थिएन । जब फिल्म हेरेर दर्शकहरु रोएका केही भिडियो टिकटकजस्ता प्लेटफर्ममा भाइरल भयो, त्यसपछि व्यापारमा एकाएक उछाल आएको थियो । केही दिनयता हलहरुले बिहान ५ बजेदेखि साँझ ११ बजेसम्म शो खुलाउँदा पनि देशभर फिल्मको टिकट हाहाकार देखिन्छ । फिल्मले अझै केही हप्ता हलमा आफ्नो पकड कायम राख्ने निश्चित छ ।

बाबु-छोराबीचको सम्बन्धको कथामा बनेको ‘पूर्ण बहादुरको सारङ्गी’लाई सरोज पौडेलले निर्देशन गरेका हुन् । यसमा विजय बराल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल लगायतको अभिनय छ । फिल्म हेर्ने प्रायःले विजयको अभिनयको प्रशंसा गरेका छन् । उनलाई ‘नेचुरल स्टार’को समेत उपमा दिइएको छ । उनले मुख्य भूमिकामा काम गरेको यो पहिलो फिल्म हो ।