‘भ्यालेन्टाइन डे’को अवसर पारेर आगामी फागुन २ गते दुई मल्टीस्टारर फिल्म बक्स अफिसमा आमने-सामने हुने भएका छन् । यो मितिमा अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउने भएका हुन् । शुक्रबार ‘दुःखी आत्मा’ले फागुन २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि भिडन्त तय भएको हो ।
‘जेरी अन टप’को छायांकनमा जानुभन्दा अगावै ‘भ्यालेन्टाइन डे’लाई प्रदर्शन मिति घोषणा गरिएको थियो । अहिले यो फिल्मको लुक्ला क्षेत्रमा छायांकन चलिरहेको छ । ‘दुःखी आत्मा’को भने छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ । पहिलोपटक दयाहाङ र अनमोलबीच बक्स अफिसमा प्रतिस्पर्धा हुन लागेका हुन् । रोचक कुरा के छ भने दुवै फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा छिन् ।
‘छ माया छपक्कै’, ‘नाङ्गो गाउँ’, ‘२ नम्बरी’ जस्ता सफल फिल्मका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुःखी आत्मा’मा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतको अभिनय छ । फिल्मको निर्माता हिमाल कडरिया हुन् । कार्यकारी निर्मातामा भने सुदीप ढकाल छन् । यसमा आलोक शुक्लाको छायांकन छ ।