यस वर्षको सुरुवातदेखि जुन किसिमले नेपाली फिल्महरुले अनपेक्षित रुपमा व्यावसायिक सफलता हासिल गरिरहेका छन्, त्यो हेर्दा नेपाली फिल्मको दिन फिरेको देखिन्छ । गत बैशाखदेखि कात्तिक दोस्रो सातासम्म नेपाली फिल्मले एक अर्बमाथिको व्यापार गरिसकेका छन् । घरघरमा नेपाली फिल्मको चर्चा हुन थालेको छ । परिवारसहित फिल्म हेर्न हलमा आउने माहोल सिर्जना भएको छ । यो नेपाली फिल्मका लागि अद्भूत क्षण हो ।
यसपालिको दशैं र तिहार झन् नेपाली फिल्मका लागि अभूतपूर्व नै रह्यो । तिहारको ‘पूर्ण बहादुरको सारङ्गी’ले अहिलेसम्म डंका पिटिरहेको छ । अब बक्स अफिसमा ‘ह्रस्व दीर्घ’को जादू चल्ने छनक देखिएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले कम शोका बाबजुद पनि पहिलो दिन राम्रो अकुपेन्सी हासिल गरेको छ । बिहानैदेखि फिल्मलाई प्राप्त कुनै शोमा दर्शक अभाव छैनन् ।
बिहानी शोमा देशभर ५० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको फिल्मले दिउँसो ७० प्रतिशतसम्म पुर्यायो । साँझका धेरैजसो शोमा भने शतप्रतिशत नै अकुपेन्सी देखिएको छ । काठमाडौंसहित पोखरा, धरान, विराटनगर, नेपालगञ्ज, हेटौंडा, बुटवल, चितवन, दमक, इटहरी जस्ता ठूला सहरहरुमा शुक्रबार फिल्मले उत्साहप्रद व्यापार गरेको जानकारी प्राप्त छ ।
शुक्रबारको व्यापारिक ट्रेन्ड हेर्दा शनिबार फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने निश्चित प्रायः छ । शनिबारका लागि उपलब्ध धेरैजसो शो हाउसफुल समेत भइसकेका छन् । शुक्रबारको व्यापारलाई मध्यनजर गर्दै केही मल्टीप्लेक्सहरुले शो पनि बढाएका छन् । तर, अझै फिल्मलाई पर्याप्त शो छैन । जसले गर्दा लगानी सुरक्षित गर्न फिल्मले ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ ।
शुक्रबार बिहान फिल्मकर्मी र पत्रकारहरुका लागि फिल्मका निर्माताले काठमाडौंको बिग मुभिजमा विशेष शो आयोजना गरेका थिए । जहाँ बसुन्धरा भुसाल, दीपाश्री निरौला, गौरी मल्ल, किरण केसी, शिवहरी पौडेल लगायतको उपस्थिति थियो । उनीहरुले फिल्मको मेकिङदेखि कलाकारहरुको अभिनयको खुलेरै प्रशंसा गरे । विशेषगरी क्लाइमेक्समा अभिनेत्री विपना थापाले गरेको अभिनयले भावुक बनाएको प्रतिक्रिया सेलिब्रेटीहरुले दिएका थिए ।
एकातिर बिहानैदेखि फिल्म हाउसफुल हुनु र अर्कोतिर विशेष शोमा सेलिब्रेटीहरुबाट प्रशंसा मिल्दा फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना खुसी भावमा देखिइन् । उनले भनिन्, ‘दर्शकलाई फिल्म मनपर्छ कि पर्दैन भन्ने उत्सुकता र डर थियो । तर, बिहानैदेखि देशभर फिल्म हाउसफुल भएको छ । दर्शकहरुले फिल्म मन परेको प्रतिक्रिया दिइरहनुभएको छ । डर अझै अलि दिन त रहला तर आत्मविश्वास भने पलाएको छ । दर्शकले फिल्म स्वीकार्नुभएको छ, त्यो कुरामा खुसी छु ।’
चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । फिल्मलाई भारतका कवीरलालले खिचेका हुन् । यसको निर्माण लागत ६ करोड रहेको जनाइएको छ ।