गत वर्ष प्रदर्शित फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरी यतिबेला नयाँ फिल्म ‘कर्मा’को तयारीमा छन् । यही मंसिर २० गतेबाट छायांकनको तयारी गरिएको फिल्ममा उनले कलाकारको ‘लाइनअप’ बलियो बनाइरहेका छन् । फिल्ममा अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा अनुबन्धित गरिसकिएको छ । उनलाई पहिलोपटक एक्सन अवतारमा प्रस्तुत गरिँदैछ ।
अब फिल्ममा मुख्य अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी भित्रिएकी छ । उनीसँग निर्माताको केही हप्ताअघि नै कागजी सम्झौता भएको थियो । फिल्ममा उनी विपिनको जोडी भएर प्रस्तुत हुनेछिन् । त्यस्तै, नकारात्मक भूमिकामा अभिनेता मुकुन भुसाललाई अनुबन्धित गरिएको जानकारी प्राप्त छ । उनी पहिलोपटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।
‘कर्मा’मा उपासनाको विपिनसँग पहिलो सहकार्य हुनेछ । ‘क्याप्टेन’बाट अभिनेत्रीको रुपमा भित्रिएकी उनले ‘कबड्डी कबड्डी कबड्डी’, ‘दुई नम्बरी’ र ‘खुस्मा’बाट हिटमा ह्याट्रिक गरिससकेकी छन् । मुकुन भने फिल्म ‘बुलबुल’बाट उदाएका हुन् । यही फिल्मबाट उनी चर्चामा आए । यतिबेला उनी अभिनीत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा कीर्तिमानी व्यापार गरिरहेको छ ।
लुम्बिनी प्रदेशको दाङ जिल्लाबाट छायांकन सुरु गर्न लागिएको ‘कर्मा’लाई रुकुममा पनि खिचिने जनाइएको छ । फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्साल निर्मातामा छन् । नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट फिल्मलाई प्रदर्शन गरिँदैछ ।