‘घुमी घुमी’ गीतमा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री अञ्जना बराइलीलाई पहिलो फिल्म ‘महापुरुष’बाटै सफलता मिल्यो । यसपछि ‘पूजार सार्की’ र यतिबेला प्रदर्शनरत ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि सफलता प्राप्त गरेपछि उनको हिटमा ‘ह्याट्रिक’ पूरा भएको छ । लगातार तीन फिल्म सफल हुँदा उनी ‘डिमान्डेड’ बनेकी छन् । एकपछि अर्को फिल्म उनको हातमा परिरहेको छ ।
यसैबीच, अञ्जना नयाँ फिल्म ‘डोरी’मा आबद्ध भएकी छन् । उनीसँग निर्माताले यसै साता कागजी सम्झौता गरेका हुन् । उनीसँगै फिल्ममा प्रकाश घिमिरेलाई पनि अनुबन्ध गरिएको कार्यकारी निर्माता राज थापाले जानकारी दिए । यसअघि फिल्ममा कलाकारहरु प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई लगायत निश्चित भइसकेका छन् ।
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन् । उनी स्वयंको लेखन रहेको फिल्ममा मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । ‘मिस्टर एक्स’ निर्माता रहेको फिल्ममा राजनराज सिवाकोटीको सङ्गीत, सौरभ लामाको छायांकन तथा राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ ।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण रहने फिल्मलाई सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ । ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनमा जोखिमपूर्ण निर्णयहरू लिने एउटा सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशक लामाले जनाए । उनका अनुसार फिल्ममा हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिनेछ ।