मिति : २०८१ मंसिर २, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इनिसियल व्यापारमा अब्बल ‘ह्रस्व दीर्घ’, दर्शकबाट सिक्वेलको माग

फिल्मीखबर, काठमाडौं, 2024/11/17

नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ रहेको फिल्म ‘ह्रस्व दीर्घ’ इनिसियल व्यापारमा अब्बल देखिएको छ । तिहारदेखि दर्शकको चुम्बकीय आकर्षण बनेको ‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबीच शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बक्स अफिसमा उत्साहप्रद व्यापार गर्‍यो । देशभर प्राप्त अधिकांश शोमा बिहानदेखि साँझसम्म उच्च अकुपेन्सी देखिएको थियो ।

शनिबार फिल्म झनै आक्रामक रह्यो । लगभग डेढ सय हाराहारी शोमा फिल्मले सानदार उपस्थिति जनायो । दर्शकको चाप ठूलो तर शो संख्या कम हुँदा टिकटको हाहाकार समेत देखिएको थियो । दर्शकको मागलाई मध्यनजर गर्दै केही हलले शनिबार मध्यरातमा समेत फिल्म चलाएका थिए । काठमाडौं, नेपालगञ्ज, बुटवल, इटहरी, दमक, चितवन, धनगढी लगायतका सहरमा शनिबार फिल्मको व्यापार आक्रामक रहेको थियो ।

फिल्मले दर्शकीय प्रतिक्रिया राम्रो पाएको देखिन्छ । कथावस्तु, ट्विस्ट एन्ड टर्न, कलाकारहरुको अभिनय, द्वन्द्व, मेकिङ पक्षलाई रुचाइएको छ । अभिनेत्री विपना थापाले छोराप्रति प्रेम दर्शाउँदै क्लाइमेक्समा गरेको अभिनयले दर्शकलाई भावविह्वल बनाएको एउटा भिडियो यतिबेला टिकटकमा निकै भाइरल भइरहेको छ । जसले गर्दा फिल्मप्रति दर्शकको आकर्षण थप बढ्ने देखिन्छ ।

 

Hrashwo Deergha


फिल्म प्रदर्शनको दिनदेखि काठमाडौंमा विभिन्न हल पुगिरहेका कलाकारदेखि निर्देशकलाई दर्शकहरुले सिक्वेल बन्नुपर्ने माग समेत गरेका छन् । शनिबार हल भिजिटको क्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले सिक्वेल बन्न सक्ने संकेत गरिन् । सिक्वेल बनेको खण्डमा सबै कलाकार दोहोरिने र नयाँ कथामा बन्ने उनको भनाई छ । सिक्वेलको कथा निकै रोचक रहेको उनी बताउँछिन् ।

‘सारङ्गी’मा दर्शकको ठूलो उछाल रहेकाले ‘ह्रस्व दीर्घ’ले दुई दिन अपेक्षित शो पाउन सकेन । शो पर्याप्त नहुँदा टिकटको अभावले विशेषगरी शनिबार धेरै दर्शक हलबाट फर्किएका थिए । यद्यपि, नीता शो बढ्दै जानेमा आशावादी छिन् । उनी भन्छिन्, ‘दर्शकको मागअनुसार शो बढ्दै जाने हो । शुक्रबारभन्दा शनिबार केही शो बढ्यो । भोलिका दिनमा अझ बढ्ने विश्वास छ ।’

सुरुवाती दुई दिन उत्साहप्रद व्यापार गरेको फिल्मको वास्तविक परीक्षा भने आइतबारबाट सुरु भएको छ । कामकाजी दिन सुरु भएकाले अब व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । दुई दिनको प्रतिक्रिया हेर्दा फिल्मले हलमा लामो यात्रा गर्न सक्ने देखिन्छ । आइतबार पनि बिहानबाट धेरैजसो हलमा अकुपेन्सी सुखद् देखिएको छ ।

फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत (गजनी भिलेन)लाई काठमाडौं बोलाएको छ । उनी आइतबार दिउँसो काठमाडौं ओलिँदैछन् । फिल्ममा उनी नीताको बुबाको भूमिकामा छन् । कयौं साउथ र बलिउडमा फिल्ममा काम गरिसकेका उनी श्रीमतीसहित नेपाल आउन लागेका हुन् । उनी एक साता नेपाल रहने र त्यो समयमा हल-हलमा पुगेर दर्शकसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । फिल्मलाई भारतका कवीरलालले खिचेका हुन् । यसको निर्माण लागत ६ करोड रहेको जनाइएको छ ।