फिल्म तथा नाटकमा प्रमिला तुलाचन नयाँ नाम होइन । २०५० सालदेखि अभिनयमा सक्रिय उनले दर्जनौं नाटक र आधा दर्जन हाराहारी फिल्ममा काम गरिसकेकी छन् । उनको पछिल्लो रिलिज फिल्म ‘पूजार सार्की’ थियो । अब यही शुक्रबार उनको शीर्ष भूमिका रहेको फिल्म ‘अग्निदहन’ प्रदर्शनमा आउँदैछ । यसमा उनी बोक्सीको आरोप लागेकी महिलाको भूमिकामा छिन् ।
फिल्ममा ‘माइली दमिनी’को पात्र निर्वाह गरेकी उनी यसमा अभिनय गर्न चुनौतीपूर्ण रहेको बताउँछिन् । फिल्म सत्य घटनामा आधारित भएकाले आफूले यथार्थ अभिनय गर्नुपरेको उनको अनुभव छ । चरित्र निर्माणका लागि सुकुम्बासी बस्ती समेत गएर अध्ययन गरेकी उनले समाजमा गरिब, एकल र असहाय महिलाप्रति गरिने व्यवहार र लगाइने लाञ्छनाजस्ता घटना देखेर त्यसलाई चरित्रमा उतारेको बताएकी छन् ।
उनलाई बोक्सी आरोपी महिलाको चरित्र निभाउन सहज भएको थिएन । मलमूत्र खुवाएर कुटपिट गरेको दृश्यमा निकै गाह्रो भएको उनको अनुभव छ । ‘मैले पात्र निभाउँदा त यति गाह्रो भयो भने जसलाई वास्तवमै बोक्सीको आरोप लगाएर कुटपिट गरिन्छ, उहाँहरुलाई कस्तो हुन्छ होला भनेर म सोच्न बाध्य भएँ । मलाई धेरै दिन ‘माइली दमिनी’को ह्याङओभर रहिरह्यो’, उनले भनिन् ।
प्रमिला ‘माइली दमिनी’को पात्र निभाइरहँदा धेरैपटक भावुक पनि बनेकी रहिछन् । ‘सबैभन्दा भावुक ‘माइली दमिनी’को घर जलाउँदा र मलमूत्र खुवाउँदा भएकी थिएँ,’ उनी सम्झन्छिन् । उनको बुझाईमा जसलाई समाजबाट कुनै आडभरोसा हुँदैन, उसलाई बोक्सीको आरोप लगाइन्छ । ‘अग्निदहन’ले बोक्सी कुप्रथालाई हटाउन मद्दत गर्ने उनको विश्वास छ ।
बोक्सी कुप्रथाविरुद्धको कथामा बनेको ‘अग्निदहन’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको फिल्ममा प्रमिलासहित प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला लगायतको अभिनय छ । फिल्मलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो ।