मिति : २०८१ मंसिर २, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तेल भिसा’को चरित्रमा विपिनले लिएका छन् आफ्नै बुबाको टोन

फिल्मीखबर, काठमाडौं, 2024/11/17

bipin karki

 

हरेक प्रकारका चरित्रलाई विश्वसनीय बनाउने सामर्थ्य विरलै अभिनेतासँग हुन्छ । विपिन कार्की त्यो खुबी भएका अभिनेता हुन् । उनी चरित्रमा यसरी बाँच्छन्, मानौं त्यो उनले नै भोगेको जीवन हो । यसैले त उनी जुन चरित्रमा पनि प्रभावकारी र जीवन्त लाग्छन् । बाह्य र अन्तरिक दुवै रुपमा चरित्र निर्माणमा मिहिनेत गर्ने उनले अभिनयबाटै दर्शकको विश्वास जितेका छन् ।

उनै, विपिनको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘तेल भिसा’ यही मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी दोहोरो भूमिकामा प्रस्तुत छन् । उनले बाबु र छोराको भूमिका आफैंले गरेका छन् । ट्रेलर हेर्दा पनि त्यो प्रष्ट हुन्छ । दुई चरणमा छायांकन भएको फिल्मको अमेरिका सेड्युलमा विपिनले छोरा भएर अभिनय गरेका थिए । नेपाल सेड्युलमा भने बुबाको भूमिका निभाए ।

फिल्ममा उनी सेवानिवृत्त आर्मीको भूमिकामा छन् । उनका बुबा पनि आर्मी पृष्ठभूमिका हुन् । यसैले उनले त्यो चरित्रमा बुबाको धेरै कुरा उतार्ने प्रयास गरेका छन् । भन्छन्, ‘मैले फिल्ममा निर्वाह गरेको चरित्र मेरो बुबामा समर्पित छ । किनकि, मेरो बुबा पनि पूर्वआर्मी हुनुहुन्छ । म जति पनि आर्मीको रोल गर्छु, त्यसमा बुबाबाट प्रभावित भएर काम गर्छु । ‘तेल भिसा’मा बुबाको क्यारेक्टरमा जुन टोन छ, त्यो मैले बुबाबाटै लिएको हुँ । अरु धेरै कुरा पनि लिएको छु ।’

फिल्ममा बाउको चरित्र निभाउन सोचेभन्दा मज्जा आएको उनको अनुभव छ । त्यसको श्रेय भने उनी बुद्धि तामाङलाई दिन्छन् । ‘म सधैं भन्ने गर्छु कि राम्रो ‘को-एक्टर’ पर्‍यो भने त्यसले फिल्मलाई नै बलियो बनाउँछ,’ उनी भन्छन्, ‘बुद्धिसँग मैले पहिलोपटक काम गरेको हुँ । पहिलोपटक काम गरेको भए पनि वर्षौंदेखि सहकार्य गरिरहेको महसुस भयो । उसको कारणले पनि मैले गरेको बुबाको क्यारेक्टरलाई झन् रोचक बनायो ।’

त्यसो त विपिनले पिताको भूमिका यसअघि फिल्म ‘फूलबारी’मा पनि गरिसकेका छन् । ‘चरित्रको हिसाबले ‘फूलबारी’भन्दा ‘तेल भिसा’मा के फरक छ ?’ एक भेटमा उनलाई पत्रकारले प्रश्न गरे । विपिनलाई दुई फिल्मका चरित्रबीच सबै कुरा मिल्दैन भन्ने लाग्छ । तर, एउटै व्यक्तिले दुवै चरित्र निभाएकाले केही कुरा भने समान देखिन सक्ने उनको भनाई छ ।

‘दुई फिल्मका क्यारेक्टरबीच सबै कुरा मिल्दैन । यद्यपि, केही समानता पनि होलान् । किनकि, दुवै मैले गरेको हुँ । ‘फूलबारी’को क्यारेक्टर अलि सफ्ट थियो, यो अलि कडा छ । तर, ‘फूलबारी’ र ‘तेल भिसा’को पात्र एकै समयका हुन् । यसैले केही कुरा मिल्न सक्छ । तर, म दुवै पात्र फरक नै मान्छु । दुवैको मनोविज्ञान फरक छ । र, फरक देखियोस् भनेरै काम गरेको छु,’ उनले भने ।