मिति : २०८१ मंसिर ३, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’ हेर्ने दर्शक भेट्न काठमाडौं आइपुगे ‘गजनी’ भिलेन

फिल्मीखबर, काठमाडौं, 2024/11/17

pradip rawat

 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका भारतीय कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । फिल्मले राम्रो ओपनिङ हासिल गरेपछि नेपाली दर्शकसँग भेट गर्न उनी श्रीमती कल्याणी (साउथ अभिनेत्री)को साथमा आइतबार साँझ ७ः४५ बजे नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिएका हुन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो ।

विमानस्थलबाट प्रदीप सीधै कमलपोखरीस्थित बिग मुभिजतर्फ लागेका छन् । त्यहाँ उनले ‘ह्रस्व दीर्घ’ हेरेका दर्शकसँग साक्षात्कार गर्नेछन् । उनी आफैंले पनि फिल्म हेरेका छैनन् । आइतबार साँझ नै उनले दर्शकसँग बसेर फिल्म हेर्ने जनाइएको छ । सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्न लागेका उनले चारदिने नेपाल बसाईको क्रममा विभिन्न हल पुगेर दर्शकसँग भेट गर्नेछन् ।

प्रदीप यसअघि फिल्मको छायांकनका लागि गत पुषमा नेपाल आएका थिए । यसमा उनको महत्त्वपूर्ण भूमिका छ । उनको जेठी छोरीको भूमिकामा नीता ढुंगाना छिन् भने कान्छी छोरीको भूमिका गरिमा शर्माले निभाएकी छन् । फिल्ममा प्रदीपलाई देवधामको आदर्श पात्रको रुपमा चित्रित गरिएको छ । पर्याप्त ‘स्क्रिन स्पेश’ पाएका उनको अभिनय स्वभाविक नै लाग्छ ।

प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम, कन्नड, बंगाली, भोजपुरी लगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनलाई दर्शकमाझ चिनाएको फिल्म भने ‘गजनी’ हो । यसमा उनी नकारात्मक भूमिकामा देखिएका थिए । उनले साउथ स्टारहरु प्रभासदेखि अल्लू अर्जुनसम्मका फिल्ममा काम गरिसकेका छन् । उनले विभिन्न भाषाका गरी डेढ सय बढी फिल्म गरेका छन् ।

‘ह्रस्व दीर्घ’ले प्रदर्शनको दुई दिन (शुक्रबार र शनिबार) राम्रो व्यापार गर्‍यो । अझ शनिबार दर्शकको ठूलो उछाल देखियो । कम शोका कारण कतिपय हलबाट दर्शकहरु टिकट नपाउँदा घर फर्किन बाध्य भएका थिए । केही हलले मध्यरातमा समेत फिल्म चलाए । दुई दिनमा फिल्मले २ करोड ग्रस व्यापार गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । आइतबार पनि देशभर प्राप्त शोमा अकुपेन्सी सुखद् देखिन्छ ।