आगामी फागुन १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को यतिबेला दोस्रो चरणको छायांकन चलिरहेको छ । ब्रान्ड नाम र कलाकारको लाइनअपका कारण निर्माण अगावैदेखि चर्चामा रहेको फिल्मको छायांकन नसकिँदै विदेशमा माग बढ्न थालेको छ । पहिलो चरणकै छायांकनमा जापान, मध्यपूर्वका देश र मलेसियामा फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको थियो ।
अब थप दुई देशमा फिल्म बिक्री भएको छ । ब्ल्याक आइ क्रियशन (राजु कान र सुदिन केसी)ले अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । फिल्मको बिक्री मूल्य भने खुलाइएको छैन । जापानका लागि भने युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले प्रदर्शन अधिकार खरिद गरेका छन् ।
सशान कँडेलको निर्देशनमा तयार भइरहेको ‘होस्टेल ३’लाई ‘होस्टेल’ शृङ्खलाको महत्त्वपूर्ण तेस्रो कडीका रूपमा लिइएको छ । यसमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतको अभिनय रहेको छ । यसको पहिलो र दोस्रो दुवै श्रृंखला बक्स अफिसमा सफल ठहरिएका थिए ।
‘होस्टेल ३’मा माधव शर्माको लेखन छ भने कथा निर्देशक कँडेलकै हो । यसका डीओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफी बुद्ध थापा र मनोज खत्रीले गरेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा निर्माता कर्ण कार्की र गोविन्द अधिकारी तथा सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन्। लाइन प्रोड्युसर भने भेषराज गौतम हुन् ।