गायक समेत रहेका कलाकार मुरलीधरलाई दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ले एकपटक फेरि चर्चामा ल्याएको छ । यसमा उनी नकारात्मक भूमिकामा प्रस्तुत भएका थिए । फिल्मले व्यावसायिक सफलता त पायो नै, उनको अभिनयलाई पनि दर्शकले रुचाए । अब उनी अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’मा आबद्ध भएका छन् । यसमा पनि उनी भिलेनकै भूमिकामा देखिनेछन् ।
आइतबार फिल्मका निर्माता सरोज वलीले मुरलीधरसँग लिखित सम्झौता गरेका हुन् । उनलाई मुख्य भिलेनमा अनुबन्धित गरिएको निर्माता वलीले जानकारी दिए । सम्झौताको क्रममा फिल्मका मुख्य कलाकार हरिवंश आचार्यसँग मुरलीधरको वर्षौंपछि भेट भएको थियो । उनीहरुबीच पहिलोपटक फिल्ममा सहकार्य जुरेको हो ।
मुरलीधरले २०७२ मा आएको ‘भैरव’पछि करिब ८ वर्ष कुनै फिल्ममा काम गरेका थिएनन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’बाट उनको कमब्याक भएको हो । यसपछि उनले ‘१२ गाउँ’मा काम गरेका हुन् । यो फिल्मलाई उनले आफ्नो अभिनय करिअरको ‘दोस्रो इनिङ’ मानेका छन् । अब उनी निरन्तर फिल्म गर्ने योजनामा देखिन्छन् ।
दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको ‘हरिबहादुरको जुत्ता’मा हरिवंश र मुरलीधरसँगै प्रकाश सपूत (गायक), स्वस्तिमा खड्का र प्रियंका कार्कीको पनि अभिनय रहनेछ । यसरी हेर्दा कलाकारको ‘लाइनअप’ रोचक देखिन्छ । यसमा पटकथा तथा संवाद लेखन हरिवंश आचार्य स्वयंको छ । आगामी माघ दोस्रो साताबाट काभ्रे जिल्लामा फिल्मको छायांकन हुने जनाइएको छ ।