मिति : २०८१ मंसिर ३, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शक भेट्न हल पुगेका प्रदीप रावत भन्छन्, ‘नेपाली कलाकार हुनुमा गर्व गर्छु’

फिल्मीखबर, काठमाडौं, 2024/11/18

Pradeep Raut

 

फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार कमलपोखरीस्थित बिग मुभिज पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् । दिउँसो २ः४५ बजेको शोमा फिल्म हेरेका दर्शकसँग उनले हलभित्रै गएर प्रतिक्रिया लिए । हाउसफुल रहेको हलमा उनको प्रवेश हुँदा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाएका थिए । उनी पनि प्रसन्न भावमा देखिए ।

उनले दर्शकहरुलाई फिल्म कस्तो लाग्यो भनेर सोधेका थिए । अधिकांशले ‘बबाल’ भन्दै हुटिङ गरे । उनले फिल्मलाई दर्शकहरुले दिएको प्रेम देखेरै आफू नेपाल आएको बताए । उनले भने, ‘म एउटा काममा फसेको थिएँ । त्यो सुटिङ सरेपछि नेपाल आउन मौका मिल्यो । तपाईंहरुलाई भेट्नका लागि नै म आएको हुँ ।’ उनीसँग हलमा फोटो खिच्न दर्शकहरुबीच हानाथाप चलेको थियो ।

हलभित्र दर्शकसँग साक्षात्कार गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फिल्म राम्रो चलेको देख्दा खुसी लागेको बताए । ‘निर्माता (नीता ढुंगाना र हरिहर अधिकारी)को मिहिनेत र त्यागलाई पशुपतिनाथले आशीर्वाद दिनुभएको छ । फिल्म एकदमै राम्रो चलिरहेको छ । म खुसी छु,’ उनले भने, ‘यो पारिवारिक फिल्म हो । यसमा कुनै झमेला छैन । म यही भन्छु कि फिल्म हेर्न पूरै परिवार लिएर आउनुस् । यो सानदार फिल्म बनेको छ ।’

उनलाई पत्रकारले नेपाली कलाकार हुँदाको अनुभवबारे पनि प्रश्न सोधेका थिए । जसको जवाफमा उनले भने, ‘म नेपाली कलाकार हुनुमा गर्व गर्छु । म पहाडी हुँ । नेपाल पनि पहाड नै छ । यसैले हाम्रो डीएनए मिल्छ । अलिअलि मेरो अनुहार पनि नेपालीसँग मिल्छ । मलाई नेपाली कलाकार बनाइदिनुभएकोमा आभारी छु ।’ उनले भोलिका दिनमा पनि नेपाली फिल्म खेल्न चाहने बताए ।

प्रदीप आइतबार साँझ श्रीमती कल्याणी रावतको साथमा काठमाडौं आइपुगेका हुन् । उनको नेपाल बसाई चार दिनको रहनेछ । उनी बुधबार दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज जाने कार्यक्रम छ । उतैबाट उनी स्वदेश (भारत) फर्किने जनाइएको छ । यसअघि उनी फिल्मको छायांकनका लागि गत पुषमा नेपाल आएका थिए । फिल्ममा उनले अभिनेत्रीद्वय नीता ढुंगाना र गरिमा शर्माको बुबाको भूमिका निर्वाह गरेका छन् । यसमा उनको भूमिका महत्त्वपूर्ण छ ।

 

Pradeep Raut


प्रदीपले हिन्दी, तमिल, तेलुगु, मलायलम, भोजपुरी लगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनलाई दर्शकमाझ चिनाएको फिल्म भने ‘गजनी’ हो । यसमा उनी नकारात्मक भूमिकामा देखिएका थिए । उनले साउथ स्टारहरु प्रभासदेखि अल्लू अर्जुनसम्मका फिल्ममा काम गरिसकेका छन् । उनले विभिन्न भाषाका गरी डेढ सय बढी फिल्म गरेका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले उत्साहप्रद ओपनिङ गरेको थियो । अझ शनिबार हलमा दर्शकको उछाल देखियो । आइतबार पनि व्यापार राम्रो रह्यो । सोमबार सरकारले अचानक सार्वजनिक विदा दिएपछि दिउँसोबाट फिल्मको व्यापार देशभर बढेको छ । फिल्मले तीन दिनमा २ करोड ७५ लाख कमाई गरेको जनाइएको छ । फिल्मलाई प्राप्त प्रतिक्रिया सकारात्मक छ ।