नकारात्मक भूमिकामा रोजाइको कलाकार बनिरहेका छन्, प्रकाश शाह । डेब्यु फिल्म ‘लभ स्टेशन’ हुँदै ‘साङ्लो’ र पछिल्लो फिल्म ‘रावायण’सम्म आइपुग्दा उनी नकारात्मक भूमिकामै देखिए । ‘रावायण’मा उनले निर्वाह गरेको ‘काल्का’को चरित्र दर्शकले रुचाएका थिए । अब उनी नयाँ फिल्म ‘सत्यवीर’मा देखिने भएका छन् । सोमबार उनीसँग निर्माताले कागजी सम्झौता गरेका हुन् ।
निर्माण कम्पनी गडरेज पिक्चर्सले उनको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । जसमा उनी ‘एंग्री’ लुक्समा प्रस्तुत छन् । सिगार सल्काउँदै गरेको अवस्थामा चित्रित भएका उनलाई कसैले पानीबाट जोगाउन छाता ओढाएका छन् । प्रकाशको लुक्स हेर्दा उनी नकारात्मक भूमिकामा देखिन लागेको संकेत मिल्छ । यद्यपि, यसबारेमा निर्माण टिमले जानकारी गराएको छैन ।
यसअघि अभिनेता प्रदीप चौधरी फिल्ममा शीर्ष भूमिकामा अनुबन्ध भइसकेका छन् । फिल्म ‘होस्टेल रिटर्न्स’मा ‘पिके डन’को भूमिकामार्फत् चर्चामा आएका उनले करिब १० वर्षपछि कमब्याक गर्न लागेका हुन् । आगामी डिसेम्बरबाट छायांकन सुरु हुन लागेको फिल्ममा विराज खड्काको निर्देशन रहनेछ । निर्माता भने आदेश सुब्बा हुन् ।
निर्देशक खड्काले फिल्ममा ४० प्रतिशत दृश्य भिएफएक्स रहने बताए । बाँकी ६० प्रतिशत काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा छायांकन गरिनेछ । यसको कथा प्रदीप चौधरी स्वयंको हो । साढे २ करोडको लागतमा निर्माण हुने फिल्ममा परिचित कलाकारहरू नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए । प्रदीप र प्रकाशबाहेक भने अन्य कलाकार निश्चित भएका छैनन् ।