मिति : २०८१ मंसिर ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अग्निदहन’ बोक्सी कुप्रथाविरुद्धको अभियान हो : निर्देशक लामिछाने

फिल्मीखबर, काठमाडौं, 2024/11/19

Aanidahan

 

बोक्सी कुप्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले निर्माण भएको फिल्म ‘अग्निदहन’ यही शुक्रबार (मंसिर ७ गते)बाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि अब दुई दिन बाँकी रहँदा सोमबार काठमाडौंमा निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको निर्माण उद्देश्यबारे जानकारी गरायो । निर्देशक घनश्याम लामिछानेले ‘अग्निदहन’ फिल्म मात्र नभइ देशव्यापी अभियान रहेको बताए ।

‘हामीले व्यावसायिक हिसाबले फिल्म बनाएका होइनौं । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौं,’ उनले भने । फिल्म निर्माण भएको ६ वर्ष भए पनि कथा अहिले पनि उतिक्कै सान्दर्भिक छ भन्ने उनलाई लाग्छ । उनी फिल्म राम्रो बनेको दाबी गर्छन् ।

फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा अन्त्य गर्न फिल्म बनाएको बताए । ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना सार्वजनिक भइरहन्छन् । फिल्मले बोक्सी हुँदैन र बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन्छ,’ उनले भने ।

फिल्मकी मुख्य अभिनेत्री प्रमिला तुलाचनले आफू ‘बोक्सी’को आरोप लागेकी माइली दमिनीको चरित्रमा रहेको जानकारी दिँदै त्यो पात्रमा अभिनय गर्न गाह्रो भएको बताइन् । मलमूत्र खुवाउने दृश्यमा आफू भावुक भएको स्मरण गर्दै उनले भनिन्, ‘मलाई अभिनय गर्न त गाह्रो भयो भने जसलाई बोक्सी आरोप लगाएर यातना दिइन्छ, उनीहरुलाई कस्तो हुन्छ होला भनेर म भावुक भएकी थिएँ ।’

 

Aanidahan (2)


अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोपमा महिलालाई धामी-झाँक्रीले दिने यातना साँच्चै असह्य हुने अनुभव सुनाइन् । ‘फिल्ममा मलाई धामीले फलाम डामेको दृश्य छ । त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो । झन् बोक्सीको आरोपमा महिलालाई साँचिक्कै धामीले त्यसरी डाम्दा कति हुन्छ होला । सम्झँदा पनि मेरो मुटु काप्छ,’ उनले भनिन् ।

लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद लेखन रहेको फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुपमा भण्डारी, विष्णु बास्तोला, तारा बहादुर गुरुङ लगायतको पनि अभिनय छ । यसमा दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । फिल्मको ५ सयभन्दा बढी विशेष शो आयोजना भइसकेका छन् ।