प्रायः अभिनेत्रीहरु करिअरको सुरुवाती समयमा आमाको रोल गर्न हम्मेसी चाहँदैनन् । यो रोल गरेपछि सहायक भूमिकामा सीमित हुनुपर्छ, हिरोइन भएर काम गर्न पाइँदैन भन्ने भय धेरैलाई हुन्छ । तर, अभिनेत्री वर्षा राउत यो मामलामा अलग देखिन्छिन् । उनले दोस्रो फिल्म ‘छक्का पञ्जा’मा नै आमाको भूमिका निभाएकी थिइन् । ‘जात्रा’ श्रृंखलामा त दुई सन्तानकी आमा भइसकेकी छन् ।
यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’मा पनि उनी आमाको भूमिकामा देखिँदैछिन् । ट्रेलरमा उनलाई गर्भवती अवस्थामा देख्न सकिन्छ । आखिर एकपछि अर्को फिल्ममा उनी आमाको भूमिकामा किन देखिरहेकी छन् ? उनलाई लाग्छ, यो ‘छक्का पञ्जा’ र ‘जात्रा’ श्रृंखलामा गरेको चरित्रको प्रभाव हो ।
‘यो विषयमा सबैको आ-आफ्नो विचार हुन्छ । कसैलाई हिरोइन भएर मात्र अगाडि बढ्न मन लाग्छ । मेरो हकमा चाहिँ मैले दोस्रो फिल्म ‘छक्का पञ्जा’मा नै आमाको रोल गरेकी थिएँ । ‘जात्रा’ श्रृंखलामा त आमाकै भूमिकामा छु,’ उनी भन्छिन्, ‘मलाई ‘छक्का पञ्जा’ र ‘जात्रा’मा दर्शकले त्यो क्यारेक्टरमा रुचाइदिनुभयो । त्यसैले मलाई फिल्मको अफर पनि त्यही हिसाबले आउन थाल्यो ।’
एउटा विन्दूमा भने वर्षालाई आमाको भूमिका मात्र किन अफर आइरहेको होला भन्ने लागेको रहेछ । तर, अहिले सोच्दा राम्रै भएछ भन्ने उनलाई लाग्छ । भन्छिन्, ‘म यहाँ कलाकार हुन आएकी हुँ । मलाई हिरोइन नै बन्नुपर्छ, बारीमा सल उडाउनुपर्छ भनेर कहिल्यै लोभ लागेको थिएन र छैन पनि । मलाई स्क्रिप्ट र टिम चित्त बुझेको छ भने म काम गर्छु ।’
अमेरिकामा ‘तेल भिसा’को छायांकनको क्रममा उनले गर्भवती देखिन घन्टौंसम्म पेटमा बेली लगाउनुपरेको थियो । त्यो क्षण एकदमै गाह्रो रहेको उनको अनुभव छ । ‘मलाई गर्भवती भएर काम गर्न एकदमै गाह्रो भएको थियो । मैले बेली लगाएर हिँड्नुपर्ने थियो । ८/१० घन्टासम्म बेली लगाएर बस्नुपर्थ्यो,’ उनी भन्छिन्, ‘मजाको पार्ट चाहिँ के थियो भने ‘आउटडोर’मा छायांकन हुँदा अमेरिकाका व्यक्तिहरुले मलाई बधाई दिन्थे । म पनि धन्यवाद भन्थेँ । त्यो फाइदा चाहिँ मैले मजाले उठाएँ (हाँस्दै) ।’
यो फिल्ममा वर्षाले अभिनेता विपिन कार्कीको श्रीमती भएर अभिनय गरेकी छन् । ‘जात्रा’ श्रृंखलामा पनि उनी विपिनकै श्रीमतीको भूमिकामा देखिँदै आइरहेकी छन् । ‘तेल भिसा’मा विपिन बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । शंकर घिमिरेको निर्देशनमा बनेको फिल्मले छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी एक आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा भन्छ ।