दशैं र तिहारमा निकै गर्माएको नेपाली फिल्मको बजार शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि तताएको छ । कम शोका बाबजूद पनि उत्साहप्रद ओपनिङ गरेको फिल्मले शुक्रबार ८० लाख कमाएको थियो । शनिबार व्यापारमा झनै उछाल देखियो । प्राप्त अधिकांश शो हाउसफुल हुँदा १ करोड २० लाख ग्रस कमाई भयो । दुई दिनमै व्यापार २ करोड पुगेको थियो ।
आइतबार पनि फिल्मले राम्रो अंक (७५ लाख) जोड्यो । त्यस्तै, सोमबार ९० लाख कमाई भएको छ । सोमबार अचानक सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सार्वजनिक विदा दिएपछि कार्यालय पुगेका धेरै कर्मचारीहरु हलतिर मोडिँदा फिल्मको व्यापारमा ठूलो फाइदा पुगेको थियो । सोमबारसम्म फिल्मले कूल ३ करोड ६५ लाख कमाएको वितरक मनोज राठीले जनाएका छन् । यो अंकलाई उत्साहप्रद मान्न सकिन्छ ।
मंगलबार पनि फिल्मको व्यापारमा ठूलो गिरावट आएको छैन । बिहान ११ बजेदेखि मध्यान्हसम्म प्राप्त प्रायः शोमा ५० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो । रात्रिकालिन शोमा अकुपेन्सी दर केही बढेको छ । तर, ‘पूर्ण बहादुरको सारङ्गी’मा दर्शकको उछाल कम नहुँदा ‘ह्रस्व दीर्घ’को शो बढ्न सकेको छैन । जसले गर्दा फिल्मलाई लगानी उठाउन अझै केही समय संघर्ष गर्नुपर्ने देखिन्छ ।
‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि आइतबार भारतीय कलाकार प्रदीप रावत (गजनी भिलेन) समेत नेपाल आएका छन् । सोमबारबाट काठमाडौंका विभिन्न हल पुगेर उनले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् । उनी बुधबार नेपालगञ्ज जाने कार्यक्रम छ । उनी उतैबाट स्वदेश फर्किनेछन् । फिल्ममा उनले अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निभाएका छन् ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा नेपाली र भारतीय कलाकारहरुको ‘पल्टन’ नै छ । यसमा भारतबाट प्रदीपसहित ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंह जोडिएका छन् भने नपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, रेखा थापा, सञ्चिता लुइँटेल लगायतको अभिनय छ । यो फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।
‘जपिँदैन हरि’ गीत रिलिज
मंगलबार प्रदर्शनको पाँचौं दिनमा रहेको ‘ह्रस्व दीर्घ’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जपिँदैन हरि’ बोलको प्रेमभावयुक्त गीतमा केतन क्षेत्री र मेनुका पौडेलको युगल गायन छ भने प्रतिक पौडेलको शब्द रचना तथा संगीत छ । गीतमा नीता ढुंगाना, हरिहर अधिकारी र सरोज खनालसहितका कलाकारहरु प्रस्तुत छन् । नीता र हरिहर रोमान्टिक देखिएका छन् । गीतमा समावेश ‘जपिँदैन हरि मनमा पिर नपरी, चखेवाका दुई चरी’ भन्ने अंश कर्णप्रिय छ ।