फिल्म चल्दा निर्मातालाई त फाइदा हुन्छ नै, कलाकारलाई पनि कामको अभाव हुँदैन । एउटै फिल्मको सफलताले करिअर उचाइँमा पुर्याउँछ । तर, केही कलाकारलाई फिल्म जति नै सफल हुँदा पनि ‘हर्ष न विस्मात्’ भनेजस्तै हुन्छ । न कामको चर्चा हुन्छ न सफलताको जस मिल्छ । यतिबेला गायक समेत रहेका अभिनेता प्रकाश सपूतको हकमा यही भइरहेको छ ।
उनको महत्त्वपूर्ण भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमानी बनाइरहेको छ । व्यापार मात्र करिब ४० करोड पुगिसकेको छ । तर, फिल्मले कीर्तिमानी व्यापार गरिरहेको भए पनि प्रकाश चर्चाविहीन देखिन्छन् । न कामको त्यति सरहाना भएको छ न सफलताको जस मिलिरहेको छ । एउटा कलाकारलाई यो जति दुर्भाग्य अरु के होला र ?
फिल्ममा प्रकाश अभिनेता विजय बरालको छोराको भूमिकामा छन् । उनको अभिनय सन्तोषजनक नै छ । हलमा दर्शकलाई भावुक बनाउन उनको पनि भूमिका छ । तर, चर्चामा भने प्रकाशसहित फिल्मका अन्य सबै कलाकारमाथि विजय बराल पूर्ण रुपमा हाबी देखिएका छन् । मिडियादेखि सामाजिक सञ्जालसम्म जताततै उनकै हाईहाई भइरहेको छ । यो स्वभाविक पनि हो । किनकि, फिल्म नै उनको काँधमा छ । उनी नै मेरुदण्ड हुन् ।
आफू निर्देशित फिल्म ‘वसन्त’भन्दा अगाडि ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुने भएपछि प्रकाश निर्मातासँग असन्तुष्ट थिए । उनले केही समय त पोस्टर र गीत समेत सेअर गरेनन् । प्रचारमा पनि अन्तिम समयतिर देखिए । फिल्म रिलिजपछि भने उनी हल-हलमा पुगिरहेका छन् । कतिपयले फिल्म चलेपछि जस लिन अगाडि सरेको आरोप लगाएका छन् । यसले गर्दा पनि उनलाई ‘सारङ्गी’को सफलता ‘हर्ष न विस्मात्’ जस्तै भएको छ ।
अघिल्लो वर्ष डेब्यु फिल्म ‘परदेशी २’ सुपरहिट सावित हुँदा प्रकाशको चर्चा मात्र चुलिएको थिएन, सफलताको जस पनि मिलेको थियो । तर, ‘सारङ्गी’बाट त्यो दुवै हुन सकेन । यद्यपि, उनी कीर्तिमान रचेको फिल्मको हिस्सा हुन पाएका छन् । र, लगातार दुईवटा फिल्मको सफलता उनलाई मिलेको छ । यसरी हेर्दा उनलाई गायनझैँ फिल्म पनि फापेको देखिन्छ । यो सुखद् पक्ष हो ।