दुई वर्षअघि प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुने भएको छ । स्पेनी भाषामा स्वरांकन गरेर फिल्मलाई ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ नामबाट अमेजन प्राइममा रिलिज गर्न लागिएको लेखक तथा निर्देशक शाहीले जानकारी दिए । उनका अनुसार यसबाट ९० देशमा फिल्म हेर्न सकिनेछ ।
यसअघि अंग्रेजी भाषामा अमेरिका, यूके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा फिल्मलाई प्रदर्शन गरिसकिएको छ । भिक्टोरियन क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापाको जीवनीमा आधारित भएर निर्माण भएको फिल्ममा गोर्खालीको बहादुरी, त्याग, करुणा र मित्रताको कथा देखाइएको छ । फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो ।
साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ लगायतको अभिनय छ । निर्देशक शाहीको यो पहिलो निर्देशकीय फिचर फिल्म हो । यसपछि उनले ‘अन्तिम संस्कार’ बनाए, जुन अघिल्लो वर्ष रिलिज भएको थियो । अब उनको तेस्रो फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ ।
सन् १९१५ सेप्टेम्बर २५ मा ब्रिटिश सेनाहरूले फ्रान्सको लुइसमा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते भए । तर, घाइते भएको भोलिपल्टदेखि उनी घाइतेहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भयो । फिल्मले उनको यही कथा देखाउँछ ।