गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि यतिबेला भारतीय कलाकार प्रदीप रावत (गजनी भिलेन) नेपालमा छन् । आइतबार श्रीमती कल्याणीको साथमा नेपाल आएका उनले सोमबार र मंगलबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । बुधबार उनी फिल्मको टिमसँग नेपालगञ्ज पुगेका छन् । उनी त्यहीँबाट स्वदेश फर्किने जनाइएको छ ।
हिन्दी, तमिल, तेलुगु लगायत विभिन्न भाषाका फिल्ममा काम गरिसकेका प्रदीपको ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली फिल्म हो । यसमा उनी धर्मगुरुको भूमिकामा छन् । उनको छोरीको भूमिकामा अभिनेत्री नीता ढंगाना प्रस्तुत छिन् । उनलाई आगामी दिनमा पनि नेपाली फिल्ममा काम गर्ने ठूलो इच्छा छ । उनले ‘ह्रस्व दीर्घ’को सिक्वेल बनाउन समेत निर्मातालाई आग्रह गरेका छन् ।
मंगलबार सञ्चारकर्मीसँग उनले भने, ‘म फेरि पनि नेपाली फिल्ममा काम गर्न चाहन्छु । र, म नीता ढुंगानालाई आग्रह गर्छु कि चाँडै यसको दोस्रो पार्ट बनाउनुहोस् । किनकि, दर्शकले पनि चाहेका छन् । म पनि काम गर्न अधैर्य छु ।’ ‘ह्रस्व दीर्घ’लाई दर्शकले मन पराएको देख्दा खुसी लागेको उनको भनाई थियो । उनी फिल्म सुपरहिट हुनेमा विश्वस्त छन् ।
‘फिल्मबाट ‘पोजेटिभ इनर्जी’को तुफान आइरहेको छ,’ उनी अगाडि भन्छन्, ‘दर्शकलाई मनदेखि नै फिल्म राम्रो लागेको छ । ‘आर्टिफिसियल’ रुपमा होइन । हलमा प्रतिक्रिया बुझ्न जाँदा मैले त्यो महसुस गरेको छु । किनकि, इमानदारिता भन्ने चिज अनुहारमै देखिन्छ । मलाई लाग्छ, फिल्म सुपरहिट हुनेछ ।’
अभिनेता रावतले नेपाल र नेपालीको पनि प्रशंसा गरेका छन् । नेपालीमा ढोंगीपन नरहेको उनको अनुभव छ । भन्छन्, ‘नेपाल साह्रै सुन्दर देश हो । मलाई नेपालीहरु पनि एकदमै मनपर्छ । नेपालीहरुमा ढोंगीपन छैन । मनदेखि नै इमानदार छन् । हलमा जाँदा पनि मलाई एकदमै प्रेम दिनुभयो ।’ उनले आफू नेपाली कलाकार हुन पाएकोमा गर्व महसुस भएको बताएका छन् ।
‘ह्रस्व दीर्घ’ले बुधबार नेपालगञ्जमा उच्च शो पाएको छ । सिने रोयल र क्युएफएक्स बागेश्वरीले गरी १५ शोज उपलब्ध गराएका छन् । र, सबै शोमा उच्च अकुपेन्सी देखिएको छ । प्रदीपसहित फिल्मका कलाकारहरु नेपालगञ्ज पुगेकाले पनि बुधबार फिल्म हेर्न हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको हो । फिल्मले प्रदर्शनको दिनदेखि बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।