मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’

फिल्मीखबर, काठमाडौं, 2024/11/22

आजदेखि सिनेमा हलमा ‘तेल भिसा’ र ‘अग्निदहन’

 

चार हप्तादेखि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा दर्शकको गुरुत्वाकर्षण बनेको छ । हप्ता बढे पनि दर्शक घटेका छैनन् । अझै पनि अकुपेन्सी दर उतिक्कै बलियो छ । यो फिल्मको दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले पनि पहिलो हप्ता बक्स अफिसमा राम्रो उपस्थिति जनायो । आज शुक्रबारबाट हलमा थप दुई फिल्म थपिएका छन्, ‘तेल भिसा’ र ‘अग्निदहन’ ।

दुवै फिल्मले फरक-फरक विषय उठाएका छन् । आफ्नो छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी आमाले त्यहाँ बेहोर्नुपरेको कानुनी झमेलाको कथामा ‘तेल भिसा’ बनेको छ । ‘अग्निदहन’ भने बोक्सी कुप्रथाविरुद्धको आवाज हो । विषयको हिसाबले अब्बल देखिएका दुवै फिल्मलाई बक्स अफिसमा ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’ ठूलो चुनौती हुन् । त्यो चुनौती चिर्न दुवै फिल्मले बलियो ‘वर्ड अफ माउथ’ पाउन आवश्यक छ ।

‘तेल भिसा’ले देशभर डेढ सय हाराहारी शो पाएको छ । अब प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई छ । बिहानी शोमा अपेक्षाअनुसार अकुपेन्सी देखिएको छैन । ‘वर्ड अफ माउथ’ राम्रो मिलेको खण्डमा दिउँसोबाट फिल्मले गति समात्न सक्छ ।

यसमा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई फिल्मप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । शंकर घिमिरेको निर्देशनमा तयार भएको फिल्ममा वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ । फिल्ममा समावेश ‘कति रमाइलो’ गीत यतिबेला चर्चामा छ ।

‘अग्निदहन’लाई भने घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । यसमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।