‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ बक्स अफिसमा कमजोर देखिएको छैन । पहिलो हप्ताको प्रदर्शन उत्साहप्रद रह्यो । कम शोका बाबजुद पनि बुधबारसम्म फिल्मले ५ करोड कमाइसकेको छ । अब दोस्रो हप्ताको ‘पफर्मेन्स’ले हिट र फ्लप निर्क्यौल गर्नेछ । ६ करोडमा बनेको फिल्मले हिटका लागि १२ करोड कमाउनुपर्ने हुन्छ ।
तर, फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले आफ्नो लगानी सुरक्षित भइसकेको दाबी गरेकी छन् । शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारतको ओटीटी प्लटफर्ममा फिल्म बिक्री भइसकेको र त्यहाँ हल रिलिजको पनि तयारी भइरहेकाले आफू पूर्ण रूपले ‘सेभ’ भइसकेको उल्लेख गरेकी छन् ।
उनले बिहीबार एक टेलिभिजन अन्तर्वार्तामा फिल्मले नेपालमा ५ करोड कमाउँदै गर्दा आफूले २१ करोड ग्रस देखिसकेको समेत बताएकी थिइन् । ‘मैले २१ करोडको ग्रस आँखाले देखिसकेको छु,’ उनले भनेकी छन्, ‘भारतको ओटीटी प्लेटफर्ममा ३ करोड भारुमा फिल्म बेचिसकेको छु । र, तेलुगू भाषामा हामीले भारतका हलमा नै फिल्म रिलिज गर्दैछौं । यसैले म सुरक्षित छु ।’
‘ह्रस्व दीर्घ’मा साउथका स्थापित कलाकारहरुको अभिनय रहेकाले त्यहाँका ओटीटी प्लेटफर्महरुले फिल्मप्रति चासो देखाएका थिए । फिल्मका निर्मातालाई तेलुगू ओटीटीबाट निरन्तर प्रस्ताव आइरहेको थियो । नेपाल रिलिजपछि भने निर्माताले ओटीटी राइट्स बेचेका हुन् । नीताको दाबीअनुसार ओटीटी राइट्सबाट फिल्मले ३ करोड भारु अर्थात् ४ करोड ८६ लाख नेपाली कमाएको छ ।
‘ह्रस्व दीर्घ’को डिजिटल राइट्स र विदेश राइट्स पनि राम्रो मूल्यमा बिक्री भइसकेको छ । अब सन् २०२५ मा फिल्मको तेलुगू भर्सन भारतमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । दक्षिण भारतका चर्चित कलाकारहरु प्रदीप रावत, ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंहको अभिनय रहेकाले फिल्मले तेलुगू भर्सनमा राम्रो कमाई गर्ने प्रक्षेपण गरिएको छ ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, किरण केसी, सरोज खनाल, रविन्द्र झा, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्रबुद्धि तामाङ, प्रशान्त ताम्राकार, गजित विष्ट लगायतको पनि अभिनय छ । फिल्मलाई बलिउडका नामी छायाँकार कवीरलालले खिचेका हुन् ।