मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिले रिलिज हुन्छ ‘बलिदान’ ?

फिल्मीखबर, काठमाडौं, 2024/11/22

Santosh Sen Balidan Shoot

 

दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’बाट ‘एक्सन स्टार’को रुपमा उदाएका समीर भट्ट अब ‘बलिदान’मा देखिँदैछन् । उनका कारण पनि फिल्मलाई लिएर दर्शकको एउटा तप्का अधैर्य देखिन्छ । गत भदौ २२ गतेबाट सुरु भएको फिल्मको छायांकन दशैंपछि रोकिएको थियो । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको सेटबाट बाँकी छायांकन सुरु गरिएको छ ।

अब तीव्र गतिमा फिल्मको छायांकन हुने निर्देशक सन्तोष सेनले जानकारी दिए । अन्तिम चरणको छायांकन अवधि ४५ दिनको रहनेछ । छायांकनका लागि कलाकारहरू समीरसहित सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मा मोरङ पुगिसकेका छन् । ५ करोडमाथिको बजेटमा निर्माण हुन लागेको फिल्मलाई ठूलो क्यानभासमा तयार पारिँदैछ ।

निर्माण नहुँदै यस वर्षको दशैंको फूलपातीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, छायांकन नै दशैंको संघारमा सुरु भयो । यसपछि ‘बलिदान’ले घोषणा गरेको मितिमा समीर अभिनीत फिल्म ‘१२ गाउँ’ रिलिज भएको थियो । अब ‘बलिदान’ कहिले रिलिज हुन्छ भन्ने चासो धेरैमा छ । निर्देशक सेनले फिल्मको प्रदर्शन मिति तय भइसकेको जनाएका छन् ।

उनले भने, ‘छायांकन सकिएको भोलिपल्ट टिजरसहित फिल्मको प्रदर्शन मिति घोषणा गर्नेछौं । तर, रिलिज मिति तय भइसकेको छ ।’ स्रोतका अनुसार, फिल्मलाई आगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि भएको छैन ।

एक्सन प्रधान रहेको ‘बलिदान’मा दक्षिण भारतका एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । यसमा महेश पौडेल र सञ्जय लामा छायाँकारमा छन् । नेपालको भूमिमा भइरहेको शोषण र अन्यायविरुद्धको संघर्षमा फिल्म आधारित छ ।