मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा ‘तेल भिसा’ औसत, ‘अग्निदहन’ नाजुक

फिल्मीखबर, काठमाडौं, 2024/11/24

आजदेखि सिनेमा हलमा ‘तेल भिसा’ र ‘अग्निदहन’

 

यस वर्ष नेपाली फिल्मको राम्रो माहोल बनेको छ । एकपछि अर्को फिल्म दर्शकको चुम्बकीय आकर्षण बनेका छन् । दशैंमा आएको ‘१२ गाउँ’ होस् वा ‘छक्का पञ्जा ५’ वा तिहारको ‘पूर्ण बहादुरको सारङ्गी’ नै किन नहोस्, हरेकले हलमा महोत्सवको माहोल बनाए । गत साता आएको ‘ह्रस्व दीर्घ’ले पनि गर्माएको बजार सेलाउन दिएन । अहिले नेपाली फिल्म क्षेत्र गुल्जार देखिन्छ ।

दशैंदेखिका फिल्मले हल नछाडिरहेको अवस्थामा यो साता दुई फिल्म थपिएका थिए, ‘तेल भिसा’ र ‘अग्निदहन’ । विषयवस्तुको हिसाबले अब्बल रहेका यी दुई फिल्म पनि दर्शकीय आकर्षण बन्न सक्ने धेरैको आँकलन थियो । तर, दुवैको इनिसियल व्यापार अपेक्षित हुन सकेन । बरु चौंथो हप्तामा पनि ‘पूर्ण बहादुरको सारङ्गी’मा नै दर्शकको उछाल देखियो ।

‘तेल भिसा’ डेढ सय हाराहारी शो लिएर प्रदर्शनमा उत्रिएको थियो । तर, पहिलो दिन प्राप्त शोमा फिल्मको अकुपेन्सी कमजोर रह्यो । प्रायः शोमा ३० प्रतिशत पनि अकुपेन्सी थिएन । शनिबार भने अवस्था केही सुधार देखियो । विशेषगरी दिउँसोबाट काठमाडौं, बुटवल, इटहरी जस्ता सहरहरुमा फिल्मलाई सन्तोषजनक दर्शक मिलेको थियो । यद्यपि, त्यो अपेक्षाअनुसार भने थिएन ।

फिल्ममा दर्शकको उछाल नदेखिए पनि प्रतिक्रिया राम्रो मिलेको छ । युवापुस्तादेखि वृद्धवृद्धासम्मले कथावस्तु रुचाएका छन् । कतिपय हलबाट निस्किँदा भावुक देखिएका थिए । वृद्धवृद्धालाई फिल्मको कथाले अझ छोएको छ । शुक्रबार र शनिबार फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री ऋचा घिमिरेले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार पनि गरेका थिए ।

अब कामकाजी दिन सुरु भएकाले ‘तेल भिसा’को व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर छ । शुक्रबार र शनिबारका दर्शकले फिल्मको प्रचार कुन रुपमा गर्छन्, त्यसले व्यावसायिक भविष्य निर्धारण गर्नेछ । फिल्मले विस्तारै गति समात्नेमा निर्माण टिम विश्वस्त देखिन्छ । फिल्मले छोराको सन्तान स्याहार्न अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा भन्छ ।

‘तेल भिसा’सँगै प्रदर्शनमा आएको ‘अग्निदहन’को अवस्था भने शुक्रबार र शनिबार नै अत्यन्त नाजुक रह्यो । दुवै दिन फिल्मले प्राप्त शोमा ५ प्रतिशत पनि अकुपेन्सी कटाउन सकेन । यसैले प्रायः हलले शनिबारबाटै फिल्मलाई उतारिसकेका छन् । आइतबार फिल्म एकाध हलमा मात्र छ । फिल्मले दशकौंदेखि नेपाली समाजमा व्याप्त रहेको बोक्सी कुप्रथाको कथालाई उठान गरेको छ ।