विभिन्न कालखण्डमा एकाध कलाकारको जोडी नेपाली फिल्ममा निरन्तर दोहोरिरहेको पाइन्छ । यसमा दुईवटा पक्षले ठूलो भूमिका खेलेको हुन्छ । पहिलो, फिल्मको व्यावसायिक सफलता । एउटा फिल्म सफल भयो भने त्यसका शीर्ष अभिनेता र अभिनेत्रीलाई एकपछि अर्को फिल्ममा दोहोर्याइन्छ । दोस्रो, दर्शकले जोडी रुचाएको खण्डमा पनि सहकार्यले निरन्तरता पाउँछ ।
यतिबेला नेपाली फिल्ममा दयाहाङ राई र मिरुना मगरपछि कुनै जोडी निरन्तर दोहोरिरहेको छ भने ती विपिन कार्की र वर्षा राउत हुन् । उनीहरुको सहकार्यले डबल ह्याट्रिक पूरा गरिसकेको छ । अर्थात् ६ वटा फिल्ममा एकसाथ काम गरिसकेका छन् । ‘जात्रा’, ‘गोपी’, ‘जात्रै जात्रा’, ‘के घर के डेरा’, ‘महाजात्रा’ र ‘तेल भिसा’ उनीहरुबीच सहकार्य भएका फिल्म हुन् ।
विपिन र वर्षाले काम गरेका ६ फिल्ममध्ये सबैभन्दा सफल ‘जात्रा’ श्रृंखला हो । ‘के घर के डेरा’ औसत चल्यो । ‘गोपी’ डिजास्टर बन्यो । ‘तेल भिसा’ अहिले हलमा प्रदर्शन भइरहेकाले हिट र फ्लपको निर्क्यौल हुन अझै केही दिन लाग्नेछ । तर, फिल्म हिट होस् वा फ्लप, उनीहरुको जोडी भने राम्रै जमिरहेको छ । अब सातौंपटक उनीहरुबीच फिल्ममा सहकार्य हुने भएको छ ।
निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’मा विपिन र वर्षाको जोडी बाँधिन लागेको हो । विपिन फिल्ममा निश्चित भइसकेका छन् भने वर्षासँग लिखित सम्झौता हुन बाँकी छ । यद्यपि, उनले काम गर्ने निर्णय दिइसकेकी छन् । आगामी माघ पहिलो साताबाट छायांकन हुन लागेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री पनि अनुबन्ध भइसकेका छन् ।
यो फिल्मबाट तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । उनी निर्देशित पछिल्लो फिल्म ‘दर्पण छाँया २’ (२०१७) थियो । ‘पहाड’ उनको २३औं फिल्म हुनेछ । उनले आफ्नो करिअरमा २५ वटा फिल्म पुर्याउन चाहेका छन् । उनी निर्देशित ‘बलिदान’, ‘दर्पण छाँया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता फिल्म यादगार मानिन्छन् ।