अभिनेता पल शाहले एक गम्भीर घटनाका कारण एक वर्ष जेल जीवन विताएपछि लगातार केही फिल्म सम्झौता गरे । त्यसमध्ये एक थियो, ‘कल्ली’ । उनको फोटोसुट गरेर क्यारेक्टर पोस्टरसहित गत साउनमा फिल्मको घोषणा गरिएको थियो । तर, गत भदौमा आएको ‘रावायण’ असफल भएपछि उनलाई रातारात ‘कल्ली’बाट हटाइयो । र, उनको ठाउँमा सौगात मल्ल भित्रिए ।
फिल्मबाट पललाई हटाइनुमा उनी मुछिएको एक प्रकरण प्रमुख कारण मानिएको छ । जसले गर्दा उनीसँग केही कलाकारले काम गर्न नमानेको बताइन्छ । एक अनलाइन पोर्टलसँगको अन्तर्वार्तामा ‘कल्ली’का निर्देशक लक्ष्मण सुनारले पनि अरु कलाकारले पलसँग काम गर्न नमानेको आशय व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘उहाँलाई लिँदा अरुलाई छाड्नुपर्ने अवस्था आयो ।’ तर, फिल्मबाट आफूलाई हटाइएको र निर्देशक सुनारको अभिव्यक्तिप्रति पलले कुनै पनि प्रतिक्रिया जनाएका थिएनन् ।
आइतबार एक टेलिभिजन अन्तर्वार्तामा भने उनले आफूलाई बिना जानकारी फिल्मबाट हटाइएको गुनासो गरेका छन् । ‘जसरी फिल्ममा मलाई लिनुभयो, त्यसरी नै ‘तपाईंसँग यो-यो कारणले काम गर्न नसक्ने भयौं’ भनेर भनिदिनुपर्थ्यो । मलाई अहिलेसम्म आधिकारिक रुपमा कसैले भन्नुभएको छैन । मैले त न्यूजमा आएपछि मात्र थाहा पाएको थिएँ । १/२ हप्तासम्म त मलाई विश्वास पनि लागेको थिएन । २ हप्तापछि अरुको माध्यमबाट मलाई खबर पठाइएको रहेछ,’ उनले भने ।
यद्यपि, पलले ‘कल्ली’मा काम गर्न आफूलाई लेखेको रहेनछ भनेर चित्त बुझाएका छन् । उनी भन्छन्, ‘कहिले काहीँ लेखाइ र भोगाइ भन्ने हुन्छ । सायद मेरो जीवनमा यो फिल्म लेखेको थिएन होला । म त्यसरी दिन्छु ।’ निर्देशक सुनारको अभिव्यक्तिप्रति भने उनी केही रुष्ट देखिए । कसले आफूसँग काम गर्न नमानेको हो भन्ने विषयमा स्पष्टीकरण दिनुपर्ने उनको भनाई छ ।
‘मसँग कोही कलाकारले काम गर्न नचाहेको हो भने उहाँ (निर्देशक)ले स्पष्टीकरण दिनुपर्छ । कसले मान्नुभएन ? किन मान्नुभएन ? नत्र मैले ३ वटा फिल्म साइन गरिसकेको छु, त्यसमा सबैले काम गर्न मान्नुभएको छ । त्यसमा पनि त धेरै कलाकारहरु छन् । कामै गर्न नमानेको भए उहाँहरुले पनि मान्नु हुन्थेन होला,’ उनी अगाडि भन्छन्, ‘यदि प्रमाण छैन भने कसैको बारेमा त्यसरी भन्नु हुँदैन । प्रमाण छ भने त कारणसहित यो-योले खेल्न मानेनन् भन्न पाउनुहुन्छ ।’
‘कल्ली’बाट हटाइए पनि पलसँग फिल्मको अभाव भने छैन । अहिले उनको पाइपलाइनमा तीनवटा फिल्म छन् । ‘मायाका रंगहरु’ र ‘मोहर’ छायांकनको तयारीमा छन् भने अर्को फिल्म घोषणा गरिएको छैन । केही दिनमा पोस्टरमार्फत त्यसको घोषणा गरिने जनाइएको छ । उनको मुख्य भूमिका रहेको फिल्म ‘मायावी’ भने आगामी महाशिवरात्रि अर्थात् फागुन १४ गतेबाट रिलिज हुँदैछ ।