गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ । यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । अहिलेसम्म ५०० बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।
डिजिटल अडिसनबाट छनोट हुने हरेकलाई उनीहरुकै ठाउँमा गएर सहभागिताको प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अब फिजिकल अडिसनमार्फत् २४ जनालाई छनोट गरेर प्रतियोगिता सुरु गरिने शोका निर्देशन विशाल भण्डारीले जानकारी दिए । शोको प्रशारण संस्था (टेलिभिजन) र निर्णायक (जज) भने केही दिनमा सार्वजनिक गरिने उनले बताए ।
‘एक्टिङ स्टार’मा भाग लिन इच्छुकले अझै पनि मंसिर ३० गतेभित्र दुई मिनेटसम्मको प्रस्तुतिसहितको भिडियो पठाउन सक्नेछन् । यसका विजेताले नगद पुरस्कार राशीसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने जनाइएको छ । अभिनयमा रुचि हुने व्यक्तिलाई आफ्नो कला प्रस्तुत गर्न ‘एक्टिङ स्टार’ उपयुक्त प्लेटफर्म बन्न सक्ने देखिन्छ ।