ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ, ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ । र, उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (फिल्म निर्देशक)लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण फिल्म निर्माण सम्बन्धमा छलफल गरिएको हो ।’
लेखक लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले फिल्मका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी सृजनामाथिको प्रतिलिपि अधिकार हनन् हुनबाट जोगाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले केही दिनअघि फेसबुकमा पनि स्टाटस लेख्दै ‘लाज’को कथासार र प्लट ‘पूर्णबहादुरको सारङ्गी’मा चोरिएको आरोप लगाएका थिए । फिल्ममा जस्तै ‘लाज’ पनि बाबु-छोराको कथामा रहेको उनको दाबी छ ।
‘पूर्णबहादुरको सारङ्गी’माथि ‘सङ्ग्रामपुर’ उपन्यासका लेखक डा. शिव शंकर बस्यालले पनि कथा चोरीको आरोप लगाएका थिए । उनले उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार नै प्रस्तुत गरेका थिए, जुन हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको पनि देखिन्छ । यद्यपि, फिल्मका निर्माता/निर्देशकले भने फिल्ममाथि लागेको चोरीको आरोपलाई नियोजित षड्यन्त्र भनेका छन् ।