अभिनेताद्वय दयाहाङ राई र जितु नेपाल ‘कार्साङ’मार्फत् ९ वर्षपछि एकसाथ फिल्ममा देखिँदैछन् । आगामी पुष २६ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । यसअघि दुवैले ‘वडा नम्बर ६’मा एकसाथ काम गरेका थिए । यसमा उनीहरु सहायक भूमिकामा थिए । तर, पछिल्लो समय दुवैले आफ्नै काँधमा फिल्म बोक्दै आइरहेका छन् । अर्थात् कथाको मुख्य पात्र भएर काम गरिरहेका छन् ।
‘कार्साङ’मा दयाहाङ र जितु एकसाथ देखिएकाले कसको शीर्ष भूमिका हो भन्ने चासो धेरैमा देखिन्छ । यसको तात्पर्य कार्साङ पात्र को हुन् भन्ने हो । यसबारेमा अहिलेसम्म केही खुलाइएको छैन । निर्माण टिमले यसलाई फिल्म प्रदर्शन नहुँदासम्म कौतुहलताको विषय बनाइराख्न चाहेको देखिन्छ । यो एक हिसाबले पब्लिसिटीको रणनीति पनि हो । तर, लगातार जितुको क्यारेक्टर पोस्टर सार्वजनिक भइरहनुले भने उनी नै कार्साङ हुनसक्ने सम्भावनामा बल पुर्याएको छ ।
निर्माण टिमले फिल्मको चारवटा पोस्टर सार्वजनिक गरिसकेको छ । तर, कुनैमा दयाहाङ र जितुलाई एकसाथ प्रस्तुत गरिएको छैन । दुवैको अलग-अलग क्यारेक्टर पोस्टर छ । यसले गर्दा फिल्ममा उनीहरु कट्टर दुश्मनको भूमिकामा हुनसक्ने आशंका पनि उब्जाएको छ । तर, क्यारेक्टर पोस्टरमा दयाहाङ र जितुको लुक्स हेर्दा उनीहरुले चरित्र निर्माणमा राम्रै मिहिनेत गरेको देखिन्छ ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्मले शेर्पा समुदायको कथा उठाएको छ । यसमा दयाहाङ र जितुसहित सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । पुरुषोत्तम प्रधान छायाँकार र निर्माता रहेको फिल्ममा गोविन्द बोहरा सह-निर्माता तथा आङछिरिङ शेर्पा कार्यकारी निर्मातामा छन् ।