व्यावसायिक रुपमा ऐतिहासिक कीर्तिमानी बनाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का मुख्य अभिनेता विजय बरालले नयाँ फिल्म ‘लाज शरणम्’मा आफ्नो भागको छायांकन सकाएका छन् । उनको सोमबार र मंगलबार माइतीघरस्थित खाद्य गोदाममा छायांकन भएको थियो । उनको भूमिकाबारे भने केही खुलाइएको छैन । उनले ‘सारङ्गी’को सफलतापछि काम गरेको यो पहिलो फिल्म हो ।
दशैंअघि डोल्पामा ‘लाज शरणम्’को पहिलो चरणको छायांकन गरिएको थियो । केही दिनअघिबाट काठमाडौं तालिका सुरु भएको हो । अब ५ दिनको छायांकनका लागि निर्माण टिम मुस्ताङ प्रस्थान गर्दैछ । फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (महाशिवरात्रि)लाई घोषणा भइसकेको छ । यो मितिमा अभिनेता पल शाह स्टारर फिल्म ‘मायावी’ पनि आउँदैछ ।
कुमार कट्टेल (जिग्री)को निर्देशन रहेको फिल्ममा विजयका साथै सीताराम कट्टेल, मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बू, ‘सक्किगोनि’ समूहबाट अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राराई, कमलमणी नेपाल लगायतको अभिनय छ । यो फिल्मको निर्मातामा नवीन श्रेष्ठ तथा सह-निर्मातामा राम नरेश शाह छन् ।
अभिनेता बरालले अब केही समय फिल्म नगर्ने जनाइएको छ । उनले करिब ६ महिना विश्राम लिँदैछन् । यो बीचमा उनले नाटक ‘हरि हजुरबा’ गर्नेछन् । बुधबारबाट उनी यही नाटकको रिहर्सलमा व्यस्त छन् । ‘सारङ्गी’को जादुयी सफलतापछि उनले सहायक भूमिकामा सम्झौता गरेका केही छाडेको समेत चर्चा छ । यद्यपि, यसबारेमा पुष्टि भएको छैन । उनी अब कस्ता फिल्म गर्ने भनेर योजना बनाउने तयारीमा छन् । ‘सारङ्गी’अघि सहायक भूमिकामा उनको राम्रो माग थियो ।